Butwal Today

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

८ बैशाख २०८३, मंगलवार
अ+
अ-

सिरहा ।

सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई आज बिहानै नियन्त्रणमा लिइएको हो ।

दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो । कारागारभित्रै गुटबन्दी गरी अशान्ति फैलाउन खोजेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न प्रहरीले कारागारमा बिहानै ‘अप्रेसन’ चलाएको जानकारी दिए । उनले घटनाबारे स्पष्ट पार्दै भने, “कारागारभित्र केही कैदीबन्दीले आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिने उद्देश्यले चौकीदारलाई निष्कासनको प्रयास गरेपछि सुरक्षा चुनौती बढेको थियो । थप झडप हुन नदिन हामीले २२ जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी अन्य कारागारमा स्थानान्तरणको तयारी भइरहेको छ ।”

यसअघि गत माघमा कारागारभित्रै कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो । सो समयमा इन्द्रजितको पक्राउको विरोध गर्दै कैदीबन्दीले दुई दिनसम्म प्रदर्शनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?