Butwal Today

मनाइयो जितगढी उत्सव (तस्वीरहरु)

७ बैशाख २०८३, सोमबार
अ+
अ-

बुटवल । वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा जितगढी उत्सव मनाईएको छ ।

बुटवल उपमहानगरपालिकाले सम्पदा यात्रा शुरु गर्दै जितगढी किल्लामा पुगेर उत्सव मनाएको हो।  युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’को रूपमा चिनाएको इतिहासमा उल्लेख छ ।

बुटवलको तिनाउ नदी किनारस्थित जितगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए भने अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए । उक्त युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।

युद्धका क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।

इतिहास अनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गरेका थिए । युद्धमा विजयपछि पाल्पामा उक्त मन्दिर निर्माण गरिएको र अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ ।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालीन समयमा १६ औं शताब्दीमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जीतगढी’ रहन गएको स्थानीय जानकार बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?