Butwal Today

अस्पताल काण्ड: १ सय २८ भौचर, पैसा शून्य

५ बैशाख २०८३, शनिबार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु)। कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल फेरि एक पटक गम्भीर विवादमा तानिएको छ । यसअघि शवबाट सुन हराएको घटनाले चर्चा पाएको अस्पतालमा अहिले करिब ३८ लाख रुपैयाँ हराएको नयाँ प्रकरण बाहिरिएको हो ।

गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षणका क्रममा अस्पतालले बैङ्कमा जम्मा गरेको देखाइएको १ सय २८ वटा भौचर फेला परे पनि सो रकम वास्तविक खातामा नभेटिएपछि आशङ्का भएको हो ।

अस्पतालले उक्त रकम नेपाल बैङ्क लिमिटेडमा जम्मा गरिएको दाबी गरेको छ । तर बैङ्क पक्षले केही भौचर र हस्ताक्षर नै नक्कली भएको बताउँदै ती रकम आफ्नो खातामा नआएको दाबी गरेको छ । यसले अस्पताल प्रशासन र बैङ्कबिच आरोप–प्रत्यारोपको अवस्था सिर्जना भएको छ ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष नेत्र बेल्बासेले घटनाको छानबिनका लागि प्रहरीमा उजुरी दिइसकेको बताएका छन् । यता बैङ्क शाखा प्रमुख रमेश जुगिजुले वास्तविक रकम जम्मा भएका बाहेक नक्कली भौचरको कुनै मान्यता नहुने बताउँछन् ।

नगर प्रमुख अजय थापाले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । प्रहरीका अनुसार अस्पताल वा बैङ्क पक्षको मिलेमतोमा हिनामिना भएको हुन सक्ने आशङ्का गरिएको छ ।

अर्कोतर्फ बैङ्कको सिसिटिभी फुटेज ९० दिनसम्म मात्र सुरक्षित रहने भएकाले एक वर्ष पुरानो प्रमाण जुटाउन चुनौती देखिएको छ । यसअघि पनि यही अस्पतालमा शव पोस्टमार्टमका क्रममा सुन हराएको घटनाले प्रश्न उठाएको थियो ।

लगातार भइरहेका यस्ता घटनाले अस्पतालको विश्वसनीयता र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?