Butwal Today

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

५ बैशाख २०८३, शनिबार
अ+
अ-

कीर्तिपुर (काठमाडौँ) ।  नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वास्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदल यात्रा गरेका छन् ।

पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले उनीहरुलाई हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ गराइएको हो ।

यात्रामा काठमाडौँस्थित राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्य तथा सरकारका उच्च पदाधिकारीले नेपालले विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न खोजेको आरोग्य र स्वस्थ जीवनशैलीको समर्थन गर्न आफूहरूले प्रतिबद्धता जनाएको उनीहरूले प्रतिक्रिया दिए ।

सहभागी कूटनीतिज्ञहरूलाई बिहान हात्तीवन रिसोर्टमा भेला गराई योग र पूर्वीय दर्शनमा आधारित ध्यानबारे जानकारी दिइएको थियो । उनीहरूलाई जीवन विज्ञानका प्रशिक्षक प्रतीक शर्माले आसन, प्राणायाम र ध्यानका केही विधिबारे प्रशिक्षण दिएका थिए ।

त्यसपछि सहभागी सबै कूटनीतिज्ञलाई हात्तीवन रिसोर्ट क्षेत्रबाट चम्पादेवीतर्फ जाने मार्गमा करिब दुई घण्टाको पदयात्रा गराइएको थियो । कूटनीतिज्ञलाई स्वागत गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गरे ।

साथै, उनले नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य पर्यटकीय गन्तव्य’ का रूपमा विकास गर्ने नेपाल सरकारको नीति रहेको समेत बताए । नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले आरोग्य पर्यटन रणनीति तयार गरेको जानकारी दिँदै उनले आगामी सन् २०२७ लाई नेपाली आरोग्य पर्यटन वर्षका रूपमा मनाउने त्यसका लागि आवश्यक लगानी भित्र्याउने तयारीमा सरकार रहेको जानकारी गराए । नेपालले विश्वका विभिन्न देशमा रहेका दूतावास कूटनीतिक नियोग र गैर आवासीय नेपालीको सञ्जाल प्रयोग गर्नेसमेत उनले बताए  ।

नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहकले उपत्यकाकाकै प्राकृतिक डाँडामा गरिएको यात्रा सामान्य हिँडाइ वा शारीरिक अभ्यास मात्र नभई मानसिक शान्तिसमेत दिने किसिमको भएको बताए ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधि जाको डु टोइटले नेपाली प्राकृतिक थलोमा नेपाली गीत सुन्दै हिँड्दा आफूले आरोग्य लाभ गरिरहेको प्रतिक्रिया दिए ।

आफ्नो देश दक्षिण अफ्रिकमा यहाँजस्ता उच्च हिमाल नभए पनि तर प्राकृतिक सम्पदाहरूले एक अर्को देशलाई जोड्नसक्ने धारणा उनको थियो ।

नेपालका लागि राष्ट्रसङ्घीय विकास नियोग प्रतिनिधि क्योको योकोसुकाले सप्ताहन्तमा अत्यन्त स्वच्छ हावा युक्त हात्तिवन चम्पादेवी पदमार्गको पैदल यात्रा, योग र ध्यानले आफूलाई उत्साहित बनाएको बताए ।

आफ्ना आफन्त देशवासीलाई नेपाल प्राकृतिक र संस्कृति सम्पदा मात्र नभई योग ध्यानमार्फत आत्मसन्तुष्टि प्राप्तिका लागि घुम्नै पर्ने मुलुक भएको सन्देश पु¥याउने बताए ।

नेपालका लागि बेलायती राजदूत रोर्वट फेनले अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा नेपालले यसरी पदयात्रा आयोजना गर्दा आफूलाई खुसी लागेको बताए । आरोग्य दिवसमा तय गरिएको नारामध्ये लामो पैदल यात्राले श्वासप्रश्वासलाई अझ लामो समय स्वास्थ्य राख्छ भन्ने कुराले आफू प्रभावित भएको बताए ।

बेलायतमा नेपाल पहिल्यै लोकप्रिय भएको बताउँदै बेलायतीहरूमा नेपालबारे जान्न चाहने र नेपाली भौगोलिक र  सांस्कृतिक विविधताप्रति मोहित भएको बताए ।

रासससँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालको आरोग्य पर्यटनका माध्यमबाट नेपाली ‘सप्ट पावर’ कूटनीतिलाई अगाडि बढाउन खोजेको बताउँदै पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा आयोजित १३ देशका राजदूतहरूले महत्त्व दिनु कूटनीतिक हिसाबले महत्त्वपूर्ण भएको बताए ।

“नेपाललाई योग ध्यानजस्ता प्राकृतिक स्वास्थ्य लाभका पद्धतिहरूमार्फत विश्वकै उत्कृष्ट आरोग्य गन्तव्य बनाउने लक्ष्य सरकारको छ”, उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?