Butwal Today

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक: अध्यक्ष ढकाल

२१ चैत्र २०८२, शनिबार
अ+
अ-

भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासलाई गति दिन निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा मौलिक परिवर्तन आवश्यक रहेको बताएका छन् ।

शनिबार भैरहवामा सम्पन्न नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशको आठौं प्रदेशसभामा बोल्दै अध्यक्ष ढकालल निजी क्षेत्रलाई अझै पनि शंका र नियन्त्रणको दृष्टिले हेर्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै त्यसले लगानी र व्यवसाय विस्तारमा नकारात्मक प्रभाव पारेको बताए ।

“निजी क्षेत्रलाई केवल नाफामुखी समूहका रूपमा बुझ्ने सोच परिवर्तन हुनुपर्छ,” अध्यक्ष ढकालले भने, “यो क्षेत्र रोजगारी सिर्जना गर्ने, राजस्वको मुख्य स्रोत र पूर्वाधार विकासको साझेदार हो भन्ने तथ्यलाई राज्यले स्वीकार गर्नुपर्छ ।”

उनले शिक्षण संस्थालाई ‘शान्ति क्षेत्र’ घोषणा गरिएझैँ निजी क्षेत्रलाई पनि निर्वाध रुपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कानुनी जटिलता, अनावश्यक हस्तक्षेप र नियामक निकायको दबाबका कारण व्यवसायीहरु असुरक्षित महसुस गरिरहेको उनको भनाइ थियो ।

“अख्तियारको त्रास र पुराना कानुनका कारण व्यवसायीहरूले ढुक्क भएर लगानी गर्न सकेका छैनन्,” उनले भने, “यदि राज्यले विश्वासको वातावरण निर्माण गर्‍यो भने निजी क्षेत्र आफैं आर्थिक विकासको अग्रदूत बन्न सक्छ ।”

अध्यक्ष ढकालले सरकारले अघि सारेको ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन योजनालाई सकारात्मक सुरुवातका रूपमा लिँदै यसको प्रभावकारी कार्यान्वयनमार्फत नीतिगत अस्पष्टता र प्रशासनिक अवरोध हट्ने अपेक्षा व्यक्त गरे । उनका अनुसार यस योजनाले निजी क्षेत्रलाई नीतिगत संरक्षण दिनुका साथै लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्नेछ ।

महासंघले दीर्घकालीन आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन गरी निजी क्षेत्रका मुद्दामा व्यापक बहस चलाउनुपर्नेमा जोड दिएको छ । अध्यक्ष ढकालले लुम्बिनी प्रदेशका व्यवसायीहरुलाई एकताबद्ध भई साझा धारणा निर्माण गर्न आग्रह गरे ।

यसैबीच महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र विभाजित हुँदा सरकारसँगका एजेन्डा कमजोर हुने भएकाले व्यवसायीहरुबीच बलियो एकता आवश्यक रहेको बताए ।

“चुनाव प्रतिस्पर्धाको विषय हो, तर त्यसपछि सबै एउटै उद्देश्यका लागि उभिनुपर्छ,” उनले भने, “अहिलेको चुनौतीपूर्ण आर्थिक अवस्थामा सहकार्य नै समाधानको आधार हो ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आठौँ सभाले प्रदेशको समग्र आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी अपरिहार्य रहेको औँल्याएको छ ।

महासंघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रुपमा पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, भैरहवा र नेपालगन्जका एकीकृत जाँच चौकी शीघ्र सम्पन्न गर्नुपर्ने तथा औद्योगिक पूर्वाधार विस्तारमा तीव्रता दिनुपर्ने माग गरेको छ ।

रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र तिनाउ–दानव औद्योगिक करिडोरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके प्रदेशको औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धि हुने महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको भनाई छ ।

पर्यटनतर्फ लुम्बिनी केन्द्रित सर्किट, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्रवद्र्धन तथा ऊर्जा क्षेत्रमा झिमरुक र तिनाउ जलविद्युत् आयोजनाको विकासले आर्थिक गतिविधि सशक्त हुने उनले बताए ।

महासंघले पछिल्लो समय देखिएको आर्थिक मन्दी, उच्च ब्याजदर र तरलता अभावका कारण व्यवसायीहरु मारमा परेको जनाएको छ । ऋणको सावाँ–ब्याज भुक्तानीमा समय थप गर्न र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ ।

त्यस्तै, सामाजिक आन्दोलनपछिको अस्थिरताले निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको भन्दै सम्पत्ति क्षति पुर्‍याउनेमाथि कानुनी कारबाही र शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, जिल्ला/नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यष भाष्करराज राज कर्णिकार, जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण बैधले बोल्दै निजी क्षेत्रप्रति सकारात्मक र भरोसायोग्य दृष्टिकोण विकास नगरी मुलुकको आर्थिक पुनरुत्थान सम्भव नहुने निष्कर्ष दिए ।

राज्यले नियामक भूमिकासँगै सहकार्यको भावना अघि बढाएमा मात्र लगानी वृद्धि, रोजगारी विस्तार र दिगो आर्थिक विकासको लक्ष्य हासिल हुने वक्ताहरुको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?