Butwal Today

लुम्बिनीका दुवै पूर्वमुख्यमन्त्री पराजित महत्वाकांक्षी सासंदको प्रतिनिधि सभाको यात्रामा ब्रेक

२७ फाल्गुन २०८२, बुधबार
अ+
अ-

लुम्बिनी ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशका दुई पूर्वमुख्यमन्त्री पराजित भएका छन्। प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नं। २ बाट पराजित भएका छन्। रास्वपाका विपिन आचार्य ४३ हजार ५५९ मत ल्याएर विजयी हुँदा पोखरेलले १५ हजार २८७ मत मात्र प्राप्त गरे। आचार्यले पोखरेललाई २८ हजार २९३ मतान्तरले पराजित गरेका हुन्। पोखरेलको राजनीतिक यात्रा लामो रहेको छ। उनी २०५१ सालमा दाङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०६४ सालमा समानुपातिक प्रणालीबाट सांसद बनेका उनले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। २०७४ सालमा दाङ २ ९१० बाट प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनी लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए।

पूर्वमुख्यमन्त्री स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीको पराजित

दाङ क्षेत्र नं १ मा लुम्बिनी प्रदेशका अर्का पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी पनि पराजित भएका छन्। माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य हुँदै कानुन मन्त्री र पछि मुख्यमन्त्री बनेका केसी यसपटक भने पार्टिले टिकट नदिएको झोकमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए। केसीले “आँप” चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका थिए। उनले जम्मा १ हजार ३८४ मत प्राप्त गरे। सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक ४२ हजार ६०२ मतसहित विजयी भएका छन्। कम मत प्राप्त गरेपछि केसीको जमानत समेत जफत भएको छ।

लुम्बिनी प्रदेशका दुवै मुख्यमन्त्री यसपालिको प्रतिनिधि सभामा भने पराजित भएका छन । केही प्रदेशसभा सदस्यले आफ्नो पाँच वर्षे कार्यकाल पूरा नगरी बीचमै राजीनामा दिँदै संघीय संसद् प्रवेश गर्ने लक्ष्यसहित प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए। तर फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले भने उनीहरूको आकांक्षा पूरा हुन सकेन। प्रदेश सांसद, पूर्वमन्त्रीदेखि पूर्वमुख्यमन्त्रीसम्मलाई मतदाताबाट अस्विकार गरे ।

दुई वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा संघीय सांसद बन्ने महत्वाकांक्षी यात्रामा ब्रेक

लुम्बिनी प्रदेशसभाका चार सांसदले अझै दुई वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए। उनीहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४ बमोजिम सभामुखसमक्ष लिखित राजीनामा पेश गरेका थिए। तर उनीहरूको यो कदमलाई लिएर राजनीतिक वृत्तमा आलोचना पनि भएको थियो। पाँच वर्षका लागि प्राप्त जनादेशलाई बीचमै त्यागेर संघीय सांसद बन्ने महत्वाकांक्षा राखेको भन्दै उनीहरूमाथि जनमतको अपमान गरेको आरोप लागेको थियो।

प्रदेश सांसद धनबहादुर मास्की चौथो स्थानमा

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री धनबहादुर मास्की पनि प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। मास्की २०७९ सालको प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नं। ३ ९२० बाट निर्वाचित भएका थिए। प्रदेश सरकारमा उनले २०८० सालमा अर्थमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।प्रदेश सांसदको पदबाट दुई वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका मास्कीले दाङ क्षेत्र नं। ३ मा ९ हजार ३२८ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भए। सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कमल सुबेदी ४४ हजार २४८ मतसहित विजयी भएका छन्।

पार्टी परिवर्तन गरेर लडेकी कृष्णा केसी पराजित

नेकपा परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएकी कृष्णा केसी (नमुना) पनि चुनावमा पराजित भएकी छन्। केसी तत्कालीन माओवादी केन्द्रबाट २०७४ र २०७९ गरी दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्। उनी लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्रीसमेत बनिसकेकी थिइन्। यसपटक भने उनले पार्टी परिवर्तन गर्दै बाँके प्रतिनिधिसभा क्षेत्र नं। १ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएकी थिइन्। तर मतदाताले उनलाई स्वीकारेनन्। केसीले जम्मा १ हजार २४० मत प्राप्त गर्दै दलहरूमध्ये छैटौँ स्थानमा सीमित भइन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी ३२ हजार ७९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

दल बदलेर उठेका धर्मबहादुर चौधरी पराजित

बर्दिया प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी पनि संघीय चुनावमा पराजित भएका छन्। चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए। लुम्बिनी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री , उर्जा जलस्रोत मन्त्री समेत भइसकेका चौधरीले चुनावमा ४ हजार ४७२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भए। उनी नागरिक उन्मुक्ति पार्टीका महासचिवसमेत रहिसकेका नेता हुन्। सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोखरेल २९ हजार ६७८ मत ल्याउँदै विजयी भएका छन्।

लुम्बिनी प्रदेशका प्रदेश सांसद, पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीसम्मले संघीय संसद् प्रवेश गर्ने लक्ष्यसहित उम्मेदवारी दिए पनि मतदाताले भने उनीहरूलाई यसपटक स्वीकार गरेनन्। यस परिणामलाई मतदाताको फरक सन्देशका रूपमा हेर्न सकिन्छ । प्रदेशसभा सदस्यको कार्यकाल पूरा नगरी बीचमै राजीनामा दिएर संघीय राजनीतिमा जाने प्रयास संघियताको उपहास हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?