© २०२३
बुटवल, २० असार ।
“सिल्क रोडको आरम्भ बिन्दुः भविष्यको साझेदारी“ भन्ने शीर्षकमा चीनको शीआन सहरमा अन्तर्राष्ट्रिय विश्वविद्यालय विद्यार्थी ग्रीष्म शिविर सुरु भएको छ । शीआन महानगरपालिका शिक्षा विभागको आयोजनामा तथा शीआन विश्वविद्यालयको सहआयोजनामा सुरु भएको यस शिविरमा विश्वभरिका ३४ राष्ट्रका ६९ जना युवाहरु सहभागी छन् ।
बुधबार साँझ एक विशेष समारोहबीच शिविरको औपचारिक उद्घाटन गरिएको हो । एक हप्ता लामो यस ग्रीष्म शिविरमा सहभागीहरुले चिनियाँ इतिहास, संस्कृति र विकास प्रक्रियाबारे गहिरो अध्ययन गर्ने छन्। कार्यक्रमका मुख्य विषयहरूमा विधि अभ्यास, शहरी प्रशासन, हवाई ढुवानी, कृषि उद्योग, परम्परागत कला र प्राकृतिक पारिस्थितिकी जस्ता सात मुख्य क्षेत्रको अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदान समावेश छ ।
नेपालबाट युवा प्रतिनिधिको रूपमा सहभागी भएका टीकाराम पौडेलले यस अवसरलाई अन्तरसांस्कृतिक सम्बन्ध र समृद्ध भविष्यको साझेदारीमा महत्वपूर्ण योगदान दिने माध्यमका रूपमा व्याख्या गरे ।
शिविरले विभिन्न राष्ट्रका युवाहरुलाई चिनियाँ सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाबारे बुझ्न मद्दत पुयाउने विश्वास आयोजकले लिएका छन् । साथै, आपसी समझ, विश्वास र सहकार्यको भावना विकास गरी अन्तर्राष्ट्रिय समृद्धिको आधार निर्माणमा पनि टेवा पुग्ने उनीहरूको भनाइ छ ।