© 2026
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक तथा आध्यात्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र चरा अवलोकनमा आधारित पर्यटन विस्तार गर्न सकिने सम्भावना औँल्याइएको छ ।
लुम्बिनीको मौलिक प्राकृतिक वातावरण, जैविक विविधता र आसपासका सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके पर्यटकको बसाइ अवधि बढाउनुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने सरोकारवालाको भनाइ छ ।
लुम्बिनीमा राष्ट्रिय संरक्षण विकास केन्द्र र गैडहवा गाउँपालिकाले आयोजना गरेको ‘प्रकृतिमा आधारित पर्यटनमार्फत चरा अवलोकन र सांस्कृतिक सम्पदाको पर्यटन प्रवद्र्धन’ विषयक कार्यशालामा सहभागीले लुम्बिनीको पर्यटनलाई बुद्धसँग सम्बन्धित धार्मिक तथा आध्यात्मिक गन्तव्यमा मात्र सीमित नराखी प्रकृति र सांस्कृतिक सम्पदासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय संरक्षण विकास केन्द्रका प्रमुख तथा इकोलोजिस्ट डा. सिद्धार्थबज्र बज्राचार्यले लुम्बिनीको हरियाली वातावरण र जैविक विविधतालाई पर्यटनको नयाँ आधार बनाउन सकिने बताए । लुम्बिनी आउने पर्यटकलाई बुद्धसँग सम्बन्धित स्थलको अवलोकनसँगै प्रकृतिमा रमाउने, चरा अवलोकन गर्ने तथा स्थानीय संस्कृति बुझ्ने अवसर प्रदान गर्न सके पर्यटनको दायरा फराकिलो बनाउन सकिने उनको भनाइ थियो ।
“लुम्बिनी शान्ति र आध्यात्मिक पर्यटनका लागि विश्वभर परिचित छ,” उनले भने, “यससँगै यहाँको हरियाली वातावरण र प्रकृतिलाई उपयोग गरेर प्रकृति पर्यटन विकास गर्न सकिने पर्याप्त सम्भावना छ ।”
उनका अनुसार लुम्बिनी आसपासका प्राकृतिक क्षेत्र, सिमसार, वन क्षेत्र र चराचुरुङ्गीको विविधतालाई संरक्षण गर्दै पर्यटकीय गतिविधिसँग जोड्न सके नयाँ पर्यटकीय उत्पादन विकास गर्न सकिन्छ । त्यसका लागि स्थानीय तह, पर्यटन व्यवसायी, संरक्षणकर्मी र समुदायबिच सहकार्य आवश्यक रहेको उनले बताए ।
पर्यटनविद् सुमित बरालले लुम्बिनी विश्वकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर भएकाले यसको पर्यटकीय बजार विस्तार गर्न नयाँ पर्यटकीय गतिविधि थप्नुपर्ने बताए । लुम्बिनी आउने पर्यटकलाई केही घण्टा वा एक दिनको भ्रमणमा सीमित नराखी आसपासका प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोड्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिने उनको भनाइ थियो ।
पर्यटकले नेपालमा गर्ने खर्चको मात्रा र त्यसबाट स्थानीय अर्थतन्त्रमा पर्ने प्रभावलाई ध्यान दिएर पर्यटनको योजना बनाउनुपर्ने उनले बताए । धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय जीवनशैलीमा आधारित पर्यटनको विकासले पर्यटकलाई थप समय नेपालमा बस्न आकर्षित गर्न सक्ने उनको भनाइ थियो ।
पर्यटनविद् डा. अनु लामाले नवीकरणीय ऊर्जाको प्रयोगलाई पर्यटन विकाससँग जोडेर लुम्बिनीमा दिगो पर्यटनको अवधारणा अघि बढाउन सकिने बताइन् । वातावरणमैत्री पूर्वाधार, स्वच्छ ऊर्जा र स्थानीय स्रोतको उपयोगमा आधारित पर्यटन विकास गर्न सके लुम्बिनीलाई दिगो पर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्न सकिने उनले बताइन् ।
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनी आसपासका स्थानीय तहबीच समन्वय गरेर पर्यटनका साझा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । लुम्बिनीलाई केन्द्रमा राखेर प्रकृति, चरा, वन तथा वातावरणसँग सम्बन्धित पर्यटनका कार्यक्रम अघि बढाउन सके स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ थियो ।
“लुम्बिनी आसपासका स्थानीय तहमा रहेका प्राकृतिक र सांस्कृतिक सम्पदालाई एकअर्कासँग जोडेर पर्यटकीय मार्ग बनाउन सकिन्छ,” उनले भने, “यसबाट स्थानीयस्तरमा रोजगारी र आयआर्जनका धेरै अवसर सिर्जना गर्न सकिन्छ ।”
लुम्बिनीमा आउने पर्यटकलाई आसपासका गाउँ, वन क्षेत्र, सिमसार तथा सांस्कृतिक बस्तीमा पु¥याउन सके स्थानीय उत्पादनको बजारसमेत विस्तार हुने सरोकारवालाको भनाइ छ ।
प्रकृति र सांस्कृतिक पर्यटनसँग स्थानीय खाना, हस्तकला, कृषि उत्पादन तथा परम्परागत जीवनशैलीलाई जोड्न सके पर्यटनबाट हुने आम्दानी स्थानीय समुदायसम्म पु¥याउन सकिने उनीहरूको धारणा थियो ।
कार्यशालामा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, टुर अपरेटर, होटल व्यवसायी, संरक्षणकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता थियो । सहभागीले लुम्बिनीको पर्यटन विकासका लागि प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटकलाई नयाँ अनुभव दिने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
लुम्बिनीलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गरिसकिएको अवस्थामा अब यसको आसपासका प्राकृतिक र सांस्कृतिक सम्पदालाई समेत पर्यटनको मूल प्रवाहमा जोड्न सके क्षेत्रीय पर्यटन विकासमा नयाँ सम्भावना सिर्जना हुने सरोकारवालाको निष्कर्ष थियो ।