© 2026
रोल्पा । रोल्पा अस्पताल रेउघामा हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सञ्चालन भइरहेको पाँचदिने निःशुल्क अर्थोपेडिक ओपिडि तथा शल्यक्रिया शिविरबाट दुई दिनमै ४९१ जना बिरामीले सेवा लिएका छन् । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रहेको आयोजकले जनाएको छ ।
रोल्पा अस्पताल रेउघा, रोल्पा नगरपालिका, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ वेस्टको संयुक्त सहकार्यमा असोज १२ गतेदेखि शिविर सञ्चालन भइरहेको हो । शिविर असोज १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
शिविरको पहिलो दिन २४१ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । सेवा लिनेमा १४४ जना महिला र ९७ जना पुरुष रहेका छन् । पहिलो दिन उपचारका लागि आएका बिरामीमध्ये सात जनाको शल्यक्रिया गरिएको थियो भने दुई जनालाई प्लास्टर गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी शिविरको दोस्रो दिन २५० जना बिरामीले सेवा लिएका छन् । दोस्रो दिन सेवा लिनेमा १४८ जना महिला र १०२ जना पुरुष रहेका छन् । दोस्रो दिन उपचारका लागि आएका बिरामीमध्ये २० जनाको शल्यक्रिया गरिएको आयोजक संस्थाले जनाएको छ ।
दुई दिनमा मात्रै ४९१ जनाले सेवा लिएपछि जिल्लामा निःशुल्क अर्थोपेडिक उपचार सेवाको आवश्यकता ठूलो रहेको देखिएको आयोजकको भनाइ छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेका बिरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको हो ।
रोल्पाका १० वटै स्थानीय तहका दुर्गम तथा ग्रामीण क्षेत्रबाट हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि शिविरमा ल्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने आर्थिक रूपमा विपन्न नागरिकले समेत विशेषज्ञ चिकित्सकबाट निःशुल्क परीक्षण तथा आवश्यक उपचार सेवा पाउन सकून् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
शिविरमा जन्मजात रूपमा खुट्टाको पैताला फर्किएको समस्या, हातखुट्टा बाङ्गोटिङ्गो भएको अवस्था, पुरानो चोटपटकका कारण हातखुट्टामा आएको विकृति तथा हाडजोर्नी र नशासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचार भइरहेको छ । आवश्यकताअनुसार बिरामीको शल्यक्रियासमेत गरिने आयोजकले जनाएको छ ।
शिविरमा परामर्श तथा उपचारका लागि कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन तथा टिम लिडर डा। सुजन मानसिंह, डा। सुनिल बदगायी, डा। अनिश ज्ञवाली, डा। समीर कार्की, डा। विजेन्द्र डंगोल, डा। समित लोहिया लगायतका चिकित्सक सहभागी छन् । स्वास्थ्यकर्मी तथा अन्य प्राविधिक जनशक्तिले समेत शिविरमा सेवा प्रदान गरिरहेका छन् ।
शिविरमा कल्पना पन्त, रेनिया श्रेष्ठ, लुना भट्टराई, विनिता थापा, आशा कठायत, बिना अर्याल, श्याम झ्यारयेती, रामहरि वडाल, कैलाश अधिकारी, विष्णु थापा, सन्तोष अधिकारीलगायत स्वास्थ्यकर्मी तथा सहयोगी जनशक्तिको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।
शिविरबाट विशेषगरी पुरानो चोटपटकका कारण हातखुट्टा बाङ्गिएको, जन्मजात समस्या भएका, हिँडडुल गर्न कठिनाइ भएका तथा लामो समयदेखि हाडजोर्नीसम्बन्धी समस्या भोगिरहेका बिरामीले लाभ लिन सक्नेछन् । आवश्यक परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया तथा अन्य उपचार सेवा उपलब्ध गराइने बताइएको छ ।
शिविरमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यकताअनुसार उपचार र शल्यक्रियाको व्यवस्था गरिरहेका छन् । शिविर असोज १२ गतेदेखि १६ गतेसम्म रोल्पा अस्पताल रेउघामा सञ्चालन हुने भएकाले हाडजोर्नी तथा नशासम्बन्धी समस्या भएका बिरामीलाई समयमै अस्पतालमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।