© 2026
फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेको छ । यो खुसीको कुरा हो तर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुकाउने प्रपञ्च भैरहेको अवस्थाले लुम्बिनीका पर्यटन व्यवसायीलाई दुःखी बनाएको छ ।
पोखरासंगै भैरहवाबाट पनि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले व्यावसायीक उडान गर्नुपर्ने हो । सुरुमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेपनि पछिल्लोसमय भैरहवाप्रति आँखा चिम्लिने प्रयास भएको छ । भैरहवालाई नजरअन्दाज गर्ने काम किन भैरहेको छ ? प्रश्न उत्पन्न भएको छ । जुनकुनै कारण देखाएपनि यसभित्र षडयन्त्रको गन्ध आएको छ ।
पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले उडान सुरु गर्दा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाह्य उडान बढ्न नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित बन्नुपरेको छ । अर्बौं लगानी गरेको गौतमबुद्ध बिमानस्थलले अन्तर्राष्ट्रिय उडान नपाउँदा नेपाल सरकारको लगानी समेत जोखिममा पर्ने चिन्ता छ । यद्यपि ‘देर आए दुरुस्त आए’ भन्ने उखान चरितार्थ हुनपनि सक्छ । तर, त्यसका लागि केही समय पर्खनुपर्ने छ । बिमानस्थल सञ्चालन नहुँदा भैरहवा र लुम्बिनी क्षेत्रका होटल व्यवसायीमात्रै होइन, समग्र लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीले चिन्ता प्रकट गरेको अवस्था छ ।
पर्यटन मन्त्री गनेश पौडेलले भैरहवा आएर प्रतिवद्धता जनाएको पनि चार महिना पूरा भैसकेको छ तर सरकार समेत यो विषयमा गुपचुप छ । त्यसभित्रको कारणको विषय अहिलेसम्म रहस्यकै गर्भमा छ । धेरैपटक संसदीय समितिले विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटी, विमास्थलको क्षमता र विस्तार, उद्देश्य बमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, विमानस्थल निर्माणको उद्देश्यअनुरूपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गरेको छ ।
तर, छलफलबाट बिमानस्थलमा रहेका समस्या समाधानमा सहयोग पुग्ने विश्वास गरिहाल्ने अवस्था देखिएन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार बर्ष पूरा भइसक्दा पनि उडानको अनिश्चितताले सवैलाई निरास बनाएको छ । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको थियो ।
सञ्चालनको पहिलो वर्ष जजिरा एयरलायन्सले नियमित उडान भरेको कारण उत्साह सिर्जना भएको थियो तर जजिराले हाल उक्त उडान रोकेपछि बिमानस्थल वरिपरीको वातावरण सुनसानमात्रै बन्यो । त्यसपछि धेरै अन्तर्राष्ट्रिय बायुसेवाले उडान गरे तर कुनैले पनि स्थायित्व दिन सकेनन् । यो विमानस्थल सञ्चालन हुन नसक्दा रोजगारीसंग जोडिएको धेरै क्षेत्रमा असर पुगेको छ ।
एक्काइसौँ शताब्दीमा हवाईयात्रीको संख्या विश्वभर रफ्तारले बढिरहेको छ, बढ्ने क्रम जारी छ तर नेपालमा सञ्चालनका लागि तयार रहेका विमानस्थलले सेवा दिन नपाउनु चिन्ताको बिषय हो ।
भारतले उत्तर प्रदेशको कुशीनगरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल सञ्चालन गरिसकेको छ तर नेपालमा सवै भौतिक संरचना पूरा भएरपनि संचालनमा आउन नसक्नुभित्रको रहस्य अव खोतल्नु जरुरी छ । गौतमबुद्ध विमानस्थललाई त्रिभुवन विमानस्थलको विकल्पको रूपमा समेत प्रयोग गर्न सकिने थियो ।
तर, यसलाई कार्गो र विमानस्थल विश्राम गृहको रूपमा मात्रै प्रयोग गर्ने षडयन्त्र भैरहेको कुरा समेत बाहिर आउने गरेको छ । यदि त्यस्तो प्रयास भयो भने त्यो यस क्षेत्रका जनताले स्वीकार गर्ने अवस्था रहँदैन । गौतमबुद्ध विमानस्थललाई असफल बनाएर अरू विमानस्थललाई चलायमान बनाउने रणनीति हुनसक्छ ।
यो विषयमा सम्वन्धित निकायको ध्यान जाओस् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्यत्तिकै छोडन मिल्दैन भन्ने कुरामा अव यस क्षेत्रका उद्यमी व्यवसायीले दवाव दिनु जरुरी छ । जसरी पछिल्लोपटक पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ, त्यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउने वातावरण तयार गरौं ।
एडिबीको अर्बौं ऋण लगानीमा बनेको यो विमानस्थल घाँसे मैदान नबनोस् । सम्वन्धित सवैको ध्यान जाओस् ।