© 2026
गढवामा किसानको धान खरिद गर्न थालियो
लमही । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय तुलसीपुरले दाङका किसानसँग धान खरिद गर्न सुरु गरेको छ।
सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने उद्देश्यले कम्पनीले गढवा गाउँपालिका–६, गढवामा उपसंकलन केन्द्र स्थापना गरी खरिद प्रक्रिया सुरु गरेको हो।
कम्पनीले चालु आर्थिक वर्ष २०८३÷०८४ मा दाङका किसानबाट पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यअनुसार गढवास्थित उपसंकलन केन्द्रबाट धान खरिद सुरु गरिएको कम्पनीले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ। यद्यपि, कम्पनीले मोटो धान प्रतिक्विन्टल तीन हजार ६०० रुपैयाँ र मसिनो धान तीन हजार ८०० देखि चार हजार रुपैयाँसम्ममा खरिद गरेको गढवा गाउँपालिकाले जनाएको छ। गढवामा १७४ जना किसानको एक हजार क्विन्टल धान खरिद गरिएको पालिकाले जनाएको छ।
सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री गर्न पाएपछि किसानलाई उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
खाद्य कम्पनीले निर्धारण गरेको पाँच हजार क्विन्टल खरिद लक्ष्य पूरा गर्नुका साथै जिल्लाका अन्य धान उत्पादक क्षेत्रमा समेत खरिद प्रक्रिया विस्तार गर्दा धेरै किसान लाभान्वित हुने भएका छन्।
सरकारी समर्थन मूल्य किसानका लागि कागजमा मात्रै सीमित नभई खेतमा उत्पादन गर्ने किसानको हातमा वास्तविक लाभ पुगेपछि किसान उत्साहित भएको गढवा गाउँपालिकाका अध्यक्ष एमनारायण पोख्रेलले बताए।
“वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान सित्तैमा वा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताबाट मुक्त हुँदै सरकारले तोकेको मूल्य पाउनु किसानका लागि आर्थिक राहत मात्रै होइन, उनीहरूको श्रमको सम्मान पनि हो,” उनले भने।
किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनेमा कृषि पेसाप्रतिको निराशा घट्ने र व्यावसायिक खेतीतर्फ आकर्षण बढ्ने अध्यक्ष पोख्रेलले बताए।