© 2026
तिलोत्तमा, २३ वैशाख ।
तिलोत्तमा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीको जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम एक समारोहका बिच टिकुलीगढ माध्यमिक विद्यालय तिलोत्तमा १४ बाट सुरुवात गरिएको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव गंगाराम आचार्यले शिक्षाको विकासबाट मात्रै समुन्नत समाजको सिर्जना गर्न सकिने र यसका लागि किशोर किशोरीलाई जिम्मेवार बनाउनका लागि यो कार्यक्रम गरिएको बताए ।
यसैगरी कार्यपालिका सदस्य एवम् समाजिक विकास समिती संयोजक रवि सेन्चुरीले अबको विकास युवाको आवश्यकता र अग्रजको अनुभवमा आधारित रही निर्माण गर्ने र यसका लागि युवाहरुलाई आत्मविश्वासी बनाउनका लागि यो कार्यक्रम गर्न लागिएको बताए ।

कार्यक्रममा बोल्दै वृत्तिमार्ग निर्देशन कार्यक्रमको पाठ्यक्रम निर्माणका संयोजक हुमराज भुसालले विद्यार्थीहरुलाई माध्यमिक तहको शिक्षामा आउने चुनौती, समाधान तथा उच्च शिक्षामा आफुलाई कसरी सहभागी गराउने भन्ने विषयका अतिरिक्त डिजिटल भुक्तानी, डिजिटल साक्षरता र साईवर अपराध र बच्ने उपायका बारेमा समेत यो कार्यक्रमले स्पष्ट पार्ने बताए । नगरपालिका भित्रका सबै सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन हुने कार्यक्रममा प्रशिक्षकको जिम्मेवारीमा डाक्टर उमेश न्यौपाने, हुमराज भुसाल, भोजराज पङ्गेनी, जीवन परियार, रामु पाण्डे र भोजराज न्यौपाने रहेका छन् ।
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक शंकरदत्त उपाध्याय शिक्षक चुडामणी बस्यालले पनि आफ्नो धारणा राखेका थिए । आइतबार उद्घाटन कार्यक्रम रहेकोले पालिकाका दुईवटा विद्यालय टिकुलीगढ मावि र दुर्गा माविमा कार्यक्रम सञ्चालन भएको शिक्षा, युवा तथा खेलकुद शाखाले बताएको छ ।