Butwal Today
कृषि कर्मले फेरिएका यादवः

‘अब म विदेश जान्नँ’

अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको क्रममा राधेश्याम यादवको जग्गा अधिग्रहणमा प¥यो । जग्गाको मुआब्जा बापत आएको रकमले उनले सियारी गाउँपालिका २ मा जग्गा किनेर व्यवसायिक माछापालन गरिरहेका छन् । उनको विदेश जाने बाध्यतालाई स्वेदशको कृषि कर्मले जितेको छ ।
२३ श्रावण २०८०, मंगलवार
अ+
अ-

बुटवल, २३ साउन ।  रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर–७ का राधेश्याम यादवले पहिलो पटक ३ बर्ष र दोस्रो पटक २ बर्ष गरी ५ बर्ष मलेसियामा श्रमिकको रूपमा काम गरे । छोरा छोरीहरूको उच्च शिक्षा र परिवारको खुसीका लागि उनले मलेसियाको पाउरोटी उद्योगमा ५ बर्ष पसिना बगाए । तर अहिले उनी गाउँमै परिवारसँगै रहेर कृषि कर्ममा मिहिनेत गरिरहेका छन् । माछापालन व्यवसायले यादवको दैनिकी फेरिदिएको छ ।

मायादेवी गाउँपालिका बेथरीमा रहेको जग्गा अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको क्रममा अधिग्रहणमा पर्यो । उक्त जग्गाको मुआब्जा बापत आएको रकमले उनले सियारी गाउँपालिका २ मा जग्गा किने । विदेशबाट फर्कीपछि अब विदेश नजाने सोँच बनाएका यादवले खेतमा पोखरी बनाएर व्यवसायिक माछापालन सुरुवात गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा उनले ३ वटा पोखेरी निर्माण गरेका हुन । जसमा पहिलो पटक १२ सय पिस विभिन्न जातका माछा उनले पोखरीमा हालेका छन् । बेथरीमा बसोबास गर्दै आएका यादवले ३५ कठ्ठा ८ धुर जग्गामा नयाँ माछा पोखरी निर्माण गरेका हुन । माछापोखरी निर्माणको लागि नयाँ पोखरी बिस्तार कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रूपन्देहीले सहयोग गरेको छ । ‘मलेसियामा ५ बर्ष पसिना बगाए, अव उता जान्न, यहीँ नै केही गरौ भन्ने सोंचेर माछा पोखरी सहितको कृषि फार्म स्थापना गरेको हुँ,’– यादव भन्छन् ।

विगतमा धान खेती हुदै आएको खेत मास्दा उनलाई छिमेकीहरूले समेत गाली गरेका थिए । डाँडा खेत भएको कारण धान खेती राम्रो नभएपछि उनले त्यसलाई मासेर पोखरी बनाएका हुन । अहिले उनको ३ वटा ठूला ठूला पोखरी रहेका छन् । १६ कठ्ठा क्षेत्रफलमा माछा पोखरी निर्माणको लागि उनले अनुदान पाएका थिए । सियारी गाउँपालिका वडा नम्बर २ मा रहेको आर.आर मत्स्य तथा कृषि फार्ममा अहिले उनले २ जनालाई रोजगारी समेत दिएका छन् । निकट भविष्यमा फार्मलाई विस्तार गरी अझ वृहत बनाउन योजना यादवको रहेको छ । उनी भन्छन्–‘पैसा छैन, अहिले तर यसलाई विस्तार गरी एकिकृत पशु तथा मत्स्य फार्मको रूपमा विकास गर्ने योजना रहेको छ ।’ अहिले १० वटा बाख्रा, २ वटा भैसी समेत पालेका उनले यसलाई अझ वृहत बनाएर १०, १२ वटा भैसी, कम्तीमा पनि १०० वटा सम्म बाख्रा पाल्ने योजना बनाएका छन् ।

एउटा आधुनिक बाख्राको लागि फार्म बनाउने, भैसीको लागि गोठ बनाउने योजना उनको रहेको छ । कृषि सम्बन्धी कुनै पनि कर्जा नलिएको बताउने उनले सरकारले दिएमा सहुलियत कर्जा लिएर व्यवसाय विस्तार गर्ने योजना बनाएका हुन । पहिलो पटक माछापोखरीमा राखेको कारण उत्पादनको अवस्थाको विषयमा एकिन नभएको उनको तर्क छ । माछा पोखरीको लागि १ लाख ५७ हजार रूपैयाँ अनुदान उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण बाट पाएका थिए भने अन्य माछा पोखरी निर्माण गर्दाको खर्च सबै आफै व्यवस्थापन गरेका छन् । जसमा करिव ६ लाख खर्च आएको उनको भनाई छ । फार्म संगै उनले सानो गोठ निर्माण गरेका छन् । निकट भविश्यमा दर्जन बढिलाइ रोजगारी स्वदेशमा नै दिने गरी योजना बनाएको उनको भनाई छ । विदेशमा आफूले बेकरी फैक्ट्रीमा काम गर्दाको दुख सम्झीएर केही भएपनि नागरिक विदेश जान नपरोस भन्ने हेतुले स्वदशेमा नै रोजगारी सृजना गर्ने उद्यममा लागेको उनको तर्क रहेको छ ।

यता, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई रूपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नारायण काफ्ले ले यो पटक मागमा आधारित नयाँ पोखरी निर्माणको लागि ५० प्रतिशत बढि अनुदान प्रदान गरिएको बताउँछन् । माछा सुपर जोन लागू भएका सबै पालिकाहरूमा नयाँ माछा पोखरी निर्माणको लागि प्रास्तव माग गरिएको र सोही अनुसार अनुदान प्रदान गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?