© २०२३
आफ्नो धर्म, संस्कृति र सम्मानको रक्षार्थ प्रयाग त्यसपछि चम्पारनको राजपुर (भारत) बाट बुटवल हुँदै मनोरम रिब्दीकोट आएर बसोबास गर्न थाले । यही सेन राज्य स्थापना गरि शासन गर्न थाले । यिनैका बंशज रुद्रसेन (वि.सं. १५५०–१५५७) ले पाल्पामा सेनराज्य स्थापना गरे । रुद्रसेनपछि मुकुन्द सेन (प्रथम) (वि.सं. १५५७–१६१०/१६२२) पाल्पाको राजगद्दीमा आसिन भए । यिनले आफ्नो बाहुबलले तनहुँ रिसिङदेखि लिएर पूर्वमा मोरङसम्म पाल्पा राज्यको बिस्तार गरे ।
वि.सं. १६१० मा मणि (मुनी) मुकुन्दसेनले विशाल पाल्पा राज्य आफ्नै छोरा, नाती र भतिजा आदिलाई जिम्मा दिई देवघाटमा गई तपस्या गरि जीवनयापन गर्न थाले । (मूर्धन्य विद्वान लेखक श्री विष्णुप्रसाद घिमिरेल ज्यूले पाल्पा राज्यको इतिहास, भाग १ मा मुनि मुकुन्दसेनको निधन १६१० उल्लेख गर्नुभएको छ भने अर्का मूर्धन्य विद्वान लेखक श्री सूर्यवहादुर सेन (सूव सेन) ज्यूले पालपाली सेन (पालपादेखि पुरकोटसम्म) नामक पुस्तकमा वि.सं. १६१० मा राजकाज त्याग गरेको र तपस्वीको जीवन बिताउँदै वि.सं. १६२२ मा देहावसान भएको उल्लेख गरेका छन ।
सो अनुसार पाल्पामा जेठा छोरा माणिक्य सेन (सुवर्णमाला पट्टिका), बुटवलमा अर्का छोरा विनायक सेन (पुष्पमाला पट्टिका), तनहुँमा अर्का छोरा भृंगी सेन (सुवर्णामाला पट्टिका) र मकवानपुरमा कान्छा छोरा लोहाङ्ग सेन (महिमावती पट्टिका) प्रशासक भई शासन गर्न थाले । यसरी नै रिसिङमा भतिजा रामसेन, राजपुर (चम्पारन) मा कुवेर सेन (माणिक्य सेनकै भाई) /अर्जुनचन्द्र सेन (नाती मुकुन्द सेन-कुवेर सेनका छोरा) र मदरियमा खड्ग सेन आदिलाई जिम्मा सुम्पिएको बुझिन्छ ।
स्वतन्त्र बुटवलको प्रथम राजा विनायक सेन भए । यिनी पछि जसु सेन, दामोदर सेन, बलभद्र सेन र अम्बर (अमर) सेन क्रमशः राजा भए । अम्बर सेनको राज्यकालमा मुनि मुकुन्दसेनका जेठा छोरा माणिक्य सेनको बंश– क्रम टुंगिएकोले (किनकी त्रिलोक सेन निसन्तान भई देहावसान भएको थियो ।) पाल्पाको राज्य बुटवलमै गाँसिन आयो । (नेपालको ऐतिहासिक रूपरेखा (बालचन्द्र शर्मा) । फलस्वरूप पाल्पा राज्य विनायकपुर (बुटवल) मा गाभियो । सोही सालमा राजा अम्वर सेनले पैतृक पृष्ठभूमिका कारणले बुटवल (विनायकपुर) बाट राजधानी पाल्पा सारी राज्यको शासन गर्न थाले । बुटवल (विनायकपुर) को राजधानी हिउँदे राजधानीको रूपमा मात्र रह्यो । –पाल्पाली सेन सूर्यवहादुर सेन (सूव सेन) । ‘‘बुटवलका राजा अमरसेनले पाल्पा र बुटवल मिलाई वि.सं. १७१० देखि शासन गर्न थालेको बुझिन्छ । (पाल्पा राज्यको इतिहास भाग १ विष्णुप्रसाद घिमिरे । यसरी वि.सं. १७१० मा पाल्पा र बुटवल संयुक्त राज्य बनाई राजधानी तानसेन कायम गरि अम्बर सेनले वि.सं. १७५० सम्म राज्य गरे । त्यसपछि गन्धर्व सेन (१७५०–१८०९) पाल्पा– बुटवल संयुक्त राज्य (बुटवल राज्य ?) का राजा वने । यिनको सुपुत्री कौशल्यावती देवी हुन ।
पाल्पा–बुटवल संयुक्त राज्यकी राजकुमारी कौशिल्यावती देवीको शुभ विवाह गोरखाका राजा नरभूपाल शाहसित भई यिनी माहिली रानी बनिन् । यिनैको कोखबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाह (जसले आधुनिक नेपालको एकीकरण गरे) को जन्म भएको थियो । तसर्थ रानी कौशिल्यावती देवी महान नारी हुन । यिनी पाल्पा बुटवल राज्यको नारीरत्न हुन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३४ हात १६ अङ्गुल लामो चिनामा ‘स्वसाषोक्त धर्मेण परिणिताया धर्म (प) त्न्या सरदचन्द्र वदनाया सर्वगुणालंकृताया अति सौन्दर्यसच्छिलशिल्पादिगु (ण) समूहविभूखिताया नित्यं प्रहसितवदनाया ।।’ तदनसार ‘श्री मन्ममहाराजाधिराज श्री श्री श्री नरभूपाल शाहका आफ्नो शाखामा बताएको धर्म अनुसार विवाह गरिएको धर्मपत्नी, शरदऋतुकाका चन्द्रमा जस्तो मुख भएकी, सवै गुणले सिंगारिएकी, सधै हँसिलो मुख भएकी ….. ‘बडामहारानी शौभाग्यवती श्री श्री श्री ……’ भनेर नारीरत्न कौशल्यावती देवीको बारेमा प्रष्टरूपमा उल्लेख गरिएको छ । (गोरखा राज्यको इतिहास तेस्रो भाग लेखक दिनेशराज पन्त-पेज ८२२–२३) ।
गन्धर्व सेन विद्वान, न्यायप्रेमी एवं विवेकशील राजा भएको हुँदा कौशल्यावती देवीले यी सवै गुणहरू विरासतमा पाएकी थिईन भन्दा अत्युक्ति नहोला । ‘चन्द्रप्रभासँग विवाह गरेको ३-४ बर्षसम्म पनि नरभूपाल शाहको सन्तान नभएकोले अर्को विवाह गर्नुप¥यो भन्ने विचार उठ्दा (जेठी रानी) चन्द्रप्रभाले आफ्नो फुपूकी नातिनी पाल्पाका राजाकी छोरी कौशल्यावतीसँग विवाह गर्ने व्यवस्था मिलाईन र सोही अनुसार पाल्पा गई विवाह गरि दुलही लिई नरभूपाल शाह गोरखा फर्के भनी वंशावलीहरूमा लेखिएको छ । (गोरखा राज्यको इतिहास, पहिलो भाग लेखक दिनेशराज पन्त-पेज १८९) ।
उपर्युक्त तथ्यबाट यो सिद्ध हुन्छ कि कौशल्यावती देवी रूपवती, शीलवती, गुणवती तथा कर्तव्यपरायण आदर्श नारी थिईन । तसर्थ नारीरत्न कौशल्यावती देवी बुटवल–पाल्पा राज्यको गौरवको प्रतीक हो भन्दा बुटवलबासीहरू गौरवान्वित हुनुपर्दछ । अस्त ।
सन्दर्भ सामाग्रीः
१. गोरखा राज्यको इतिहास भाग १, लेखक दिनेशराज पन्त
२. ,, ,, ,, ,, २, लेखक दिनेशराज पन्त
३) ,, ,, ,, ,, ३, लेखक दिनेशराज पन्त
४. नेपालको ऐतिहासिक रूपरेखा लेखक बालचन्द्र शर्मा
५. पाल्पा राज्यको इतिहास, भाग १ लेखक विष्णुप्रसाद घिमिरे
६) पाल्पाली सेन –पाल्पादेखि पुरकोटसम्म) लेखक सूर्यवहादुर सेन (सूव सेन) ।