© २०२३
बुटवल ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार तीनकुनेमा उपद्रव मच्चाउनेहरूका नाइके ज्ञानेन्द्र शाह नै भएको बताएका छन्।
शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौँ महाधिवेशन उद्घाटन समारोहमा देउवाले शाह सुध्रिने स्वभावकै मानिस नभएको टिप्पणी गरे।
‘पूर्वराजा ज्ञानेन्द्रका नाममा हिजो जसरी हुलहुज्जत र अराजकता निम्त्याउने काम भयो, त्यसले ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन् भने राजा भएपछि के गर्लान् भन्ने स्पष्ट भइसकेको छ,’ देउवाले भने, ‘ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनी सुध्रिने मानिस होइनन्।’
उनले थपे, ‘उनी कहिल्यै राजा बन्ने स्वभावका पनि होइनन्।’
यस क्रममा देउवाले लेखक, पत्रकारहरूलाई लोकतान्त्रिक गणतन्त्रका पक्षमा खुलेर कलम चलाउन आह्वान पनि गरे।
शुक्रबार तीनकुनेमा राजावादी नाममा उद्दण्ड जत्थाले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनीका साथै औषधि कारखाना र सञ्चारगृहमा समेत तोडफोड गरेका थिए।
व्यापारिक केन्द्रमा पसेर उनीहरू लुटपाट पनि गरेका थिए।
विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै निर्वाचन गराउन अक्षम भएको आरोप लगाउँदै २०५९ असोज १८ गते पदबाट बर्खास्त गरेका थिए।
त्यसको २ वर्षपछि २०६१ सालमा फेरि प्रधानमन्त्रीमा नियुक्त गरिए पनि ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासन सत्ता हातमा लिँदै देउवालाई पदबाट हटाउँदै नजरबन्दमा राखेका थिए।