© २०२३
बुटवल, ३० कात्तिक ।
रुपन्देहीमा जारी कारोलिनास जुनियर स्टार क्रिकेट लिग २०७९ प्रतियोगितामा देवदह ड्रेगन विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदह क्रिकेट मैदान बुधबार भएको खेलमा देवदहले तिलोत्तमा टाईटन्स माथि ५१ रनको जित निकालेको हो ।
टस जितेर ब्याटिङ रोजेको देवदह ड्रेगनका ब्याट्सम्यानहरु ३८.१ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ८३ रनको लक्ष्य खडा गरेको थियो । देवदहका लागि सहजाद आलमले ६२ बलमा ६७ रन तथा विजय प्रजापतिले ३३ बलमा ३९ रनको योगदान दिएका थिए । तिलोत्तमा टाईटन्सका आतुसोष पाण्डेले ३, विपर्सन केसीले २ विकेट लिएका थिए ।
मध्यम लक्ष्य पछ्याएको तिलोत्तमाका ब्याट्सम्यानहरु ३० ओभरमा सबै विकेट गुमाएर केवल १ सय ३२ रनमा रोकियो । उसका लागि अमन बोहराले ५५ बलमा ३५ तथा लक्ष्मण कुमालले १५ बलमा २० रनबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन् । कम स्कोरमा रोक्न देवदहका अभिक खड्काले ४, महेश भर र प्रशिद्घ अर्यालले समान २–२ विकेट लिए ।
खेलमा देवदहका सहजाद आलम म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कार तथा स्थानीय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको गौचनले बताए । स्थानीय पालिकाहरुबाट यु १९ उमेर समुहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल भैरहेको छ ।