© 2026
काठमाण्डौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स चितवन राइनोजसँग पनि पराजित भएको छ । हिजो भएको खेलमा पोखरालाई ३० रनले हराउँदै चितवन ५ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रन बनाउँदा अलआउट भयो । लगातार चौथो खेल गुमाएको पोखरा तालिकाको पुछारमा छ । उसको प्ले–अफ सम्भावना पनि लगभग सकिएको छ ।
एनपीएलमा हिजो नै भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हरायो । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
कर्णालीका डेभिड मिलरले डेब्युमै अविजित ९३ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
एनपीएलमा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे शुरु हुनेछ । प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।