© २०२३
दाङ, ६ फागुन ।
नेकपा एमाले दाङको आयोजनामा दाङको घोराहीमा भएको बृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको बताए । दाङ कृषिमा उर्वर भूमि भएको र हिजो बिकासमा पछाडि परेको भएपनि अब बिकासमा अगाडि बढेको उनले बताए । बुद्धको जन्म भएको तपोभूमि लुम्बिनी प्रदेशका हरेक क्षेत्रमा अब बिकास हुने बताए ।
घोराही–तुलसीपुर सडक चौडा गर्ने लामो समयको प्रयासबाट यो सडकमा बजेट राखिएको हो उनले भने, कामको सुरुवात भएको छ, तुरुन्त प्रारम्भ हुने छ । तुलसीपुरको एयरपोर्टका लागि यो बर्ष बजेट नपरेको उनले उल्लेख गर्दै दाङ आउने शिर्ष दलका नेताले एयरपोर्ट बनाउँछौ भनेको सुन्दा अचम्म लाग्ने बताए । ‘एयरपोर्ट बिस्तारका लागि आगामी बजेटमा पारिनेछ र काम अगाडि बढाइने छ,’ उनले भने । प्रदेश भित्र सुरुङमार्ग निर्माणको समयमा यो बन्दैन भन्दै धेरैले गिज्याए तर अब यो काम पूरा हुने भएको छ ।
दाङको समृद्धि र बिकासका लागि निर्वाचनको समयमा सही र योग्य नेतालाई नछान्नुको परिणाम दाङ बिकासमा पछाडि परेकाले उनले आगामी निर्वाचनमा शंकर पोखरेललाई बिजय गराएमा मिसन ८४ लाई पूरा गर्न सहयोग पुग्छ र दाङको समृद्धिका लागि सहयोग पुग्ने बताए । देश बिकास गर्नका लागि संकल्प गरेका छौं । दाङ खेतीका उर्बरभूमि भएकोले सबै जमिनमा पानीको सुबिधा पुराउने उनले बताए । अहिलेको समीकरण देशमा बिकास र राष्ट्रियताका लागि हो । ‘हामी काम गर्छौ,’ हामीलाई बिश्वास गर्नुहोस् उनले भने । उनले युवाहरूलाई लक्षित गर्दै भने,आइटीको समयमा छौं यही बसेर आइटी सिक्नुहोस । हिजोको जस्तो होइन अब घर मै बसेर कमाई गर्न सकिन्छ । देशमा युवाले मात्र गर्न सक्छन् भन्ने यस्ता खालका भ्रम छर्नेका कुरा नपत्याउन आग्रह गरे । देशको अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दाबी गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्र मजबुत एमालेले बनाउने दाबी गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने–‘विदेशीको इशारामा काम गर्ने सबै पार्टी किनारा लाग्छन् ।’
दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल जुन ढंगले अगाडि बढेको छ त्यो उपलब्धि नेकपा एमालेले गरेको बताए । नेकपा एमालेलाई बिभाजन गर्ने काम गरिएको उनको भनाइ छ । उनले प्रदेश र जिल्लामा नेकपा एमालेको बहुमत रहेको बताए । जनताले भरोसा गरेका पार्टीलाई साना दलले गलत भाष्य निर्माण गरि प्रचार गरेकाले देश अस्थिरतामा भन्दै उनले मुलुकको निरासालाई चिर्नका लागि नेकपा एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको बताए । दाङका जनतालाई ठूलो विमान बस्ने एयरपोर्ट आवश्यक रहेको छ । उनले दाङ उपत्यकालाई कृषिका लागि उर्वर भूमि रहेको र दाङको औद्योगिक क्षेत्रमा रहेका जमीन राम्रा रहेको स्मरण गरे । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भौतिक पूर्वाधारको आवश्यकता छ । सुन्दर दाङ बनाउनका लागि योजनाबद्ध बस्ती बिकासको सपना देखेर दाङको राप्ती उपत्यका देउखुरीमा राजधानी बनाएको स्मरण गरे ।
लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले बिकासका लागि जनताको साथ चाहिने बताइन् ।
हल्लाको आधारमा धारणा बनाउन नहुने बताउँदै उनले घरबास पीडित भएका नागरिकलाई घरको ब्यबस्थापन गर्ने काम नेकपा एमालेले गरेको बताइन् । स्वर्गद्वारी गुठी पीडितका बारेमा काम गर्न लाई कोही पनि अगाडि बढेका छैनन् । आफू सरकारमा भएको समयमा गुठी किसानको समस्यालाई सम्बोधन नगर्ने दललाइ जनताले चिन्नुपर्ने बताइन् ।
प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए। पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा आफू हर्षित भएको बताउँदै, उनले भगवान गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक एवं धार्मिक स्थलहरूले लुम्बिनीलाई विशेष बनाएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीका अनुसार लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक र आर्थिक रूपमा समृद्ध बन्दै गएको छ, र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको छ । संघीयता कार्यान्वयनको सफल उदाहरणका रूपमा लुम्बिनी प्रदेशलाई लिन सकिने उनको भनाइ छ ।
उनले हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक, र अन्य पूर्वाधारलाई प्रदेशको प्रगतिसँग जोड्दै सिद्धबाबा सुरुङ मार्ग तथा रामपुर–कपुरकोट सडक जस्ता योजनाहरूले यातायात सहज बनाउने जानकारी गराए । साथै, लुम्बिनीलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजना रहेको उल्लेख गर्दै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
“यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन,“ प्रधानमन्त्री ओलीले भने।
सिंचाइ आयोजना सफल बनाउन, कृषिलाई प्रवद्र्धन गर्न, र वातावरण संरक्षण गर्दै विकासका गतिविधिहरू अघि बढाउनुपर्ने उनको धारणा थियो । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको समेत प्रधानमन्त्रीले स्पष्ट पारे । सम्बोधनका क्रममा उहाँले लुम्बिनी प्रदेश सरकारले १२ सय शैय्याको प्रादेशिक अस्पताल भवन निर्माण सुरु गरेकोमा प्रसंसा व्यक्त गरे । ६ अर्ब १८ करोड रूपैयाँ लागतमा बन्न लागेको यो पूर्वाधार ऐतिहासिक महŒवको रहेको उनले बताए । तर, केन्द्र सरकारले १हजार शैयाको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै, संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
‘हामीले मिलेर यी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा पनि जोड दिए । ‘मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको प्रविधि हो, डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ, त्यसलाई ठीक तरिकाले प्रयोग गर्नुपर्छ,’ उनले भने ।
संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू पार गर्न तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो । ‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौं,’ उनले जोड दिए । साथै, प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा संघीय सरकारद्वारा स्थापित मौजूदा कानूनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा उनले विशेष ध्यानाकर्षण गराए । ‘प्रदेशहरूले आफ्नै कानून बनाउँदा धेरै संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले मौजूदा कानूनलाई आधार मानेर अघि बढ्न आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।