Butwal Today

रोहिणीका वडाध्यक्षले कर्मचारी कुटे

५ फाल्गुन २०८१, सोमबार
अ+
अ-

भैरहवा, ५ फागुन ।

रोहिणी गाउंपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई गाउंपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष करम हुसेन खानले गाली गलौज गरी भौतिक आक्रमण गरी घाइते बनाएका छन् ।

सोमबार दिउँसो १२ः१५ बजेको समयमा कार्यालयमै कार्यपालिकाको बैठक संचालन भइरहेको अबस्थामा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मधु प्रसाद घिमिरेले आफ्नो बिचार प्रस्तुत गर्ने क्रममा वडा अध्यक्ष करम हुसेन खानले अप्रिय गाली गलौज गरी भौतिक आक्रमण गरी घाइते बनाएकोप्रति कर्मचारीहरुले बिज्ञप्ती जारी गर्दै गाउंपालिकाबाट प्रवाह हुने सेवा ठप्प पारेका छन् ।

वडा अध्यक्ष खांनले बारम्बार कर्मचारीहरुलाई गाली गलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको गाउंपालिकाका कर्मचारीले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

बिज्ञप्तीमा लेखिएको छ,, “यस घटनाबाट राष्ट्रसेवक कर्मचारीको मान मर्दन गर्ने कार्यले अत्यन्तै मर्माहित बनाएको, कार्यालय समयमै कर्मचारीमाथि भौतिक आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य हो । सम्पूर्ण कर्मचारीहरू यस निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौं ।”

घटनाको दोषी उपर कडा कारबाही गरी गाउंपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरू सन्चालन गर्ने वातावरण नबनेसम्मका लागि गाउंपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय कर्मचारीले गरेका छन् । यस विषयमा प्रतिक्रिया दिंदै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रेमप्रसाद खनालले घटनाको निन्दा गर्दैै दोषीमाथि कारवाही र काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरे ।