© 2026
काठमाडौँ ।
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनको अन्तरले पराजित गरेको छ।थाइल्यान्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ ओभर ५ बलमा ६९ रनमा अलआउट भएको हो। नेदरल्यान्ड्सका कप्तान बबेते डी लीडेले २५, आइरिस ज्विलिङ्गले १३, क्यारोलिन डी लाङ्गेले १० रन बनाएका थिए, तर अरू कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। थाइल्यान्डका थिपाचा पुथावोङ्ग र ओनिचा काम्चोम्फुले ३/३ विकेट लिए।
यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्ड १९ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो। थाइल्यान्डकी चानिदा सुथिरुआङ्गले २७ रन बनाइन्। नेदरल्यान्ड्सका आइरिस ज्विलिङ्ग, इभा लिन्च र सिल्भर सिगेर्सले २/२ विकेट लिए।
यस जितसँगै थाइल्यान्डले लगातार तेस्रो जितको साथ ६ अंक जोडेर तालिकामा शीर्ष स्थान कब्जा गरेको छ। नेदरल्यान्ड्स ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेपाल भने लगातार ३ खेलमा हार बेहोरेको छ र तालिकाको पुछारमा छ।
भोलि नेपाल र थाइल्यान्ड बीच खेल हुने छ। लिग चरणको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।