© २०२३
कैलाली, २० माघ ।
क्रिकेटको शहर धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरिया र डिसिए धनगढी विजयी भएका छन्। गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले हराउँदै सिवाईसी अत्तरिया विजयी सुरुवात गरेको हो। धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै सिवाईसीले निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा १६४ रन बनायो। अत्तेरियाका लागि कप्तान भीम सार्कीले अर्धशतक बनाए। ३३ बलको सामना गर्दै उनले ७० रन बनाए। सो पारीमा उनले ४ छक्का र ६ चौका प्रहार गरे। अत्तेरियाका लागि तृपराज दासले ३० रन बनाए। शंकर रानाले २५ रन बनाउँदा विवेक यादवले १७ बलमा अविजित २५ रन बनाए। बैतडीका लागि अमरसिंह रौटेलाले २ विकेट र रुपेश सिंहले १ विकेट लिए।

जितका लागि पाएको १६५ रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो। बैतडीका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन हिर्काए। बसन्त खत्रीले २३ रन, सुमित बडालले १८ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। सिवाईसी अत्तेरियाका लागि विवेक यादवले ४ विकेट लिए। साहव आलम र कमल गुप्ताले २/२ विकेट लिए। दिपेश कँडेलले १ विकेट लिए। खेलमा २५ रन बनाएर ४ विकेट लिएका अत्तेरियाका विवेक यादव नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा डिसिए धनगढीले पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा डडेल्धुरासँग पराजित भएको डिसिए धनगढीले घोडाघोडी–११लाई ६९ रनले पराजित गरेको हो। टस जितेर पहिलो ब्याटिङ गर्दै डिसिए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १४९ रन बनायो। डिसिएका लागि राजु रिजालले २७ बलमा ३७ रन बनाए। यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले ९ बलमा १९ रन बनाए। घोडाघोडीका लागि धर्मराज जोशीले ३ विकेट लिए। नरेन साउँदले २ विकेट लिए।

१४९ रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा समेटियो। घोडाघोडीका लागि टेक रावतले १८ रन र दिपक टमाट्टाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन्। डिसिएलाई सानदार जित दिलाउन ललीत राजवंशीले ३ विकेट लिए। मिलन बोहोरा र राहु भण्डारीले २/२ विकेट लिए। खेलमा ३ विकेट लिएका डिसिए धनगढीका ललीत राजवंशी नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए।
प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन्। पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सिलेंस सेन्टर काठमाण्डौं प्रतिस्पर्धा गर्नेछन्। नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहेको छ। दुई समूहमा विभाजन गर्दै लिगकम नकआउटका आधारमा आयोजना भइरहेको प्रतियोगिताको समूह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन्। यस्तै समूह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेंस सेन्टर काठमाण्डौं, न्यू होराइजन्स वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन्।
