© २०२३
बुटवल, २० माघ । नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा बालकहरुको क्येटा पुजा (ब्रतबन्ध) शुरु भएको छ । नेवा परम्परा र संस्कृतिमा महिनावारी हुनुभन्दा अघि कन्याको बेलसंग बिवाह गर्ने प्रचलन अनुसार नेवाः सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भुपुसैनिक क्लबमा १५ औ पटक आयोजना भएको हो ।
नेवार पण्डित हरिशरण राजोपाध्यायले आईतबार औपचारिक रुपमा विधिवत पुजापाठ गरि ईहि शुरु गरेका छन । परिवारबिच बोलिचालीको क्रममा नेवारी भाषालाई प्राथमिकता दिन उनले सुझाव नया पिढिलाई संस्कृति सिकाउन जरुरी रहेको बताए । नेवार समुदायमा महत्वपुर्ण मानिएको ईहि यज्ञ गराएर कन्याहरुलाई धार्मिक, सास्कृतिक मान्यता अनुसार ज्ञानहरु दिईएको उनले बताए ।
कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले यस क्षेत्रमा छरिएर रहेका नेवार समुदायहरुलाई एकतावद्ध गरि भाषा, संस्कृति र संस्कार जर्गेना हुने गरि कार्यक्रम गर्दै आएको बताए । समुहमा गर्दा आर्थिक रुपमा सहज हुनुका साथै एक आपसमा परिचय हुने हुदा पनि सामुहिक कार्यक्रमको महत्व रहेको उनले बताए ।
ईहि यज्ञ र क्येटा पुजापछि जीवन पद्घतीको नया चरण शुरु हुने भएकाले पनि महत्व रहेको समितिका सचिव सारदा श्रेष्ठले बताईन ।
दुई दिनसम्म चल्ने कार्यक्रममा रुपन्देहीसहित काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट ५१ कन्या, १५ बटुकहरु सहभागी भएको कार्यक्रम संयोजक लिला प्रसाद श्रेष्ठले बताए ।
भुपुसैनिक हलबाट निकालिएको प्रभातफेरी देविनगर नेवा भवन हुदै कालिकानगर होराईजन चोक हुदै भुपुसैनिकमै पुगेर समापन भएको महिला संयोजक लिला ध्वजुले बताईन ।