Butwal Today

नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण

२० माघ २०८१, आइतबार
अ+
अ-

बुटवल, २० माघ । नेपाल किड्नी फाउन्डेसनको आयोजनामा नर्सहरुलाई लक्षित गरि बुटवलमा एक दिने सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । रुपन्देहीमा मृगौला रोग विशेषज्ञ सेवा दिदै आएको सिद्धबाबा र क्रिमशन अस्पतालको मृगौला रोग विभागमा कार्यरत एक दर्जन नर्सहरुलाई उपचारको क्रममा आउने दबाब, जटिलता र समाधानका उपायबारे जानकारी गराईएको थियो ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले सहजिकरण गर्दै मृगौलाको सचेतना आम नागरिकसम्म पुग्न जरुरी रहेको बताए । मृगौला खराब भएपछि गरिने डायलोसिस समाधान नभएको भन्दै उनले रोग लाग्नबाट वचाउने गरि समुदायमा जानुपर्ने आजको आवश्यकता भएको बताए । ‘वर्षमा एकपटक कम्तीमा एकपटक मृगौलाको जाँच गर्नुपर्छ ।’– उनले भने । नेपालमा मृगौलाबारे सचेतना कार्यक्रमको अभाव रहेको उनले बताए । सरकारबाट रोगथाममा भन्दा दुई तिहाई भन्दा बढि रकम डायलोसिसमा खर्च गरिदै आएको उनले बताए । मृगौला बिरामीहरुमा कस्ता समस्याहरु देखिन्छन र त्यसलाई समाधानका उपायबारे उनले प्रकाश पारे । एउटा ब्यक्तिको मृगौलाले दिनभरिमा २ सय लिटर ब्लड फिल्टर गर्छ । त्यसकारण पनि यसलाई स्वस्थ्यप्रति सजग हुनुपर्छ । मृगौलाको नियमित ओपिडि, डायलोसिस र प्रत्यारोपण गरि ३ मुख्य उपचारहरु अहिले गरिने उनले बताए । नेपालमा १० हजार जनाको लागि केवल आधा चिकित्सकको पहुच छ । यो तथ्याकले पनि चिकित्सकहरुको अभाव उल्लेख हुने उनले बताए । मृगौला रोग विशेषज्ञ नेपालमा बढीमा ६० जना मात्र छन । कुनैबेला समाजमा धनिलाई र उमेर पुगेकालाई देखिने भनिदै आएको यो रोग वास्तवमा सबै उमेर समुहमा देखिने उनले बताए ।

विश्व स्वस्थ्य संगठनको अध्ययनमा अमेरिकामा २ करोड र नेपालमा ३० लाख जनामा मृगौला सम्बन्धि कुनै रोगबाट ग्रसित रहेको देखाउछ ।
कार्यक्रममा फाउन्डेसनका सदस्य डा सुशील खनालले अस्पतालका मृगौला रोग विभागमा कार्यरत नर्सहरुलाई समयसापेक्ष अपडेट हुने गरि कार्यक्रम गरिएको बताए । उपचारका क्रममा आईपर्ने जटिलता र त्यसको निदानबारे नर्सहरुलाई विश्व परिवेशमा आएका उपचार विधिबारे जानकारी दिईएको उनले बताए । नर्सहरु उपचारको क्रममा प्रत्यक्ष बिरामीहरुसंग जोडिने हुदा पनि बढिभन्दा बढि सचेतना जरुरी रहने उनले बताए । मधुमेह रोग र उच्चरक्तचापका बिरामीमा सबैभन्दा बढि मृगौलाको समस्या देखिने गरेको बताए । समुदायमा प्रचारप्रसार, सचेतनामुलक कार्यक्रम सरकार र सरोकारवालाहरुले चलाउनुपर्ने छ । सामान्य कुरामा ध्यान दिनसके मृगौलाको सुरक्षा हुने उनले बताए । मार्च महिना किड्नी महिना भएको र यसलाई विशेष कार्यक्रम गरि मनाईदै आएको छ । मानव स्वस्थ्यलाई धेरै तत्वहरुले प्रभाव पार्ने विश्व स्वस्थ्य संगठनको रिपोर्टमा उल्लेख गरिएको भन्दै उनले खानपिन, जिवनशैली लगायत यसमा मुख्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?