© २०२३
बुटवल, २६ कात्तिक ।
कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ अन्तरगत शनिबार भएको खेलमा तिलोत्तमा टाईटन विजयी भएको छ । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा भएको खेलमा तिलोत्तमाले बुटवल युनाईटेडलाई ९५ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले पुरै ओभरमा ९ बिकेटको नोक्सानीमा २ सय १० रनको लक्ष्य खडा गरेको थियो । तिलोत्तमाका लक्ष्मण कुमालले २९ बलमा ४१, सन्दिप यादवले ७५ बलमा ३७ र अंकित बिएमले २६ बलमा ३४ रन जोडेका थिए । बुटवलका सचिन अर्यालले २ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ तथा हरिकेश मोरियाले ५ ओभर बलिङ गर्दै १८ रन खर्चेर १ विकेट लिएका थिए ।
प्रतियोगितामै सबैभन्दा बढी रन पछयाएको बुटवलका ब्याट्सम्यानहरु २६.१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रनमा समेटिए । उसका लागि हरिकेशले ३७ बलमा ३० तथा सन्दिप ढकालले ३१ बलमा २६ रनबाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन । बुटवलको जितमा अलराउण्डर बिपर्सन केसी नायक रहे । उनले ६ ओभर बलिङ गर्दै २९ रन खर्चेर ५ विकेट लिएका थिए ।
यसैगरी लक्ष्मण कुमालले ५ ओभर बलिङ गर्दै ९ रन खर्चेर २ बिकेट लिएका थिए । खेलमा बुटवलका विपर्सन केसी म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्वितिय पुरस्कार तथा स्थानीय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको गौचनले बताए । स्थानीय पालिकाहरुबाट यु १९ उमेर समुहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वारियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बीचमा खेल भैरहेको छ ।