© २०२३
बुटवल, २६ कात्तिक ।
सामुदायिक लगानीमा बुटवलमा पहिलो फाईभ ए साईड फुटबल मैदान निर्माण गरिएको छ । बुटवल वडा नं. ६ स्थित ताईवान टोल र चन्द्रनगर टोलमा रहेको नीजि जग्गामा बुटवल उपमहानगरपालिका, स्थानीय खेलप्रेमीहरुको आर्थिक सहयोगमा रात्रीकालिन खेल खेल्न मिल्ने फाईभ ए साईड फुटबल मैदान निर्माण गरी उदघाटन गरिएको हो ।
शनिबार एक समारोहका बीच बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले मैदानको उदघाटन गर्दै सामुदायिक लगानीमा खेलप्रेमीहरुको सहयोगमा मैदान तयार भएको बताए । बढ्दो शहरीकरणसंगै स्वस्थ्यका लागि महत्वपूर्ण मैदान अभावलाई निजी क्षेत्रबाट जग्गा सहयोगमा बेला नयाँ मैदान धेरै उपयोगी भएको उनले बताए । शैक्षिक संस्था लिट्स कलेजबाट मैदानको लागि जग्गा निःशुल्क सहयोग भएको उनले बताए ।
कलेजका प्रशासकीय अधिकृत नगेन्द्र यादवले सामाजिक उत्तरदायित्वका रुपमा खाली जग्गा सहयोग गरेको बताए । भेट्रान्स खेलाडी सुमित थापाको अगुवाईमा मैदान तयार भएको हो । करीब ४ कठ्ठा जग्गामा साढे ३ लाख रुपैया खर्चमा मैदान तयार भएको थापाले बताए । रात्रीकालिन खेल खेलाउन सकिने गरि ४ वटा नाईट लाईटको समेत ब्यवस्था गरिएको उनले बताए । धेरै पुर्व खेलाडी भएको वडामा खेलकुद गतिविधि बढाउन सहयोग मिलेको उनले बताए । युवाहरुलाई खेलमार्फत सामाजिक कार्यमा अग्रसर गराउने एउटा अभियानका रुपमा यसलाई लिएको उनले बताए ।
यसैबीच नया मैदानमा प्रथम फाईभ ए साईड भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न भएको छ । चार टिम सहभागी प्रतियोगिताको उपाधि बुटवल भेट्रान्स चुमेको छ । फाईनलमा भलुही एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै बुटवलले उपाधि चुमेको हो ।
एक समारोहका बीच वडाअध्यक्ष लोकनाथ न्यौपाने, कलेजका प्रशासकीय अधिकृत नगेन्द्र यादवले विजेता, उपविजेता टिमलाई कप बितरण गरेका छन । प्रतियोगितामा डिगरनगरको जेजेएफसी, भलुही एफसी, बुटवल भेट्रान्स, एमएफसीका बीचमा खेल भएको थियो ।