दाङ, १८ माघ।
धन हुनेले मानवको सेवा गर्न सके समाज आफै सभ्य अनि भव्य हुने लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले बताएका छन् ।
सडक मानवहरुका लागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराहीमा बिहीबारदेखि शुरु भएको ‘श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१’ लाई उदघाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले देश विकासको आधार पूर्वाधार मात्रै नहुने भन्दै मानवताको कार्यमा जुट्न सबैलाई आग्रह गरेका छन् । बेसाहाराको सहारा बनेको मानव सेवाघरको पवित्र अभियानमा सबै एकजुट हुनुपर्ने बेला भएको बताए । मगरले महंगा होटलमा महंगा भोग बिलास गर्नेहरुले मानव सेवाको कार्यमा खर्च गर्न सके सबैको उद्धार हुने बताए ।
उनले अस्थायी बसोबासको दीगोपनका लागि सोच्न पनि घोराही उपमहानगरपालिकालाई अपिल गरेका छन् । नारायणपुरमा रहेका सेवाघर अहिले काम चलाउ रहेको भन्दै दीगो बनाउन ध्यान दिन आग्रह गरे ।
प्रदेश प्रमुख मगरले मानव कल्याण समाजले बेवारिसे एवं मानसिक समस्या भएका मानिसहरुलाई सेवा घरमा राखेर सेवा दिएकोमा धन्यवाद पनि दिए । सेवा घर नारायणपुरको अवलोकन गरेको बताउदै उनले सरकारले गर्नुपर्ने काम एक सामाजिक संस्थाले गरिरहेकोमा अभियानलाई सरकारले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । उनले तीन तहका सरकारले यो विषयलाई गम्भीर रुपमा लिएर अगाडी बढ्न अपिल गर्दै जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकारले सामाजिक विषयलाई अझ बढी ध्यान दिएर काम गर्न आवश्यक रहेको बताए । उनले सबैमा मन, वचन र कर्मले महायज्ञलाई सहयोग गर्न अनुरोध गरे ।
लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता चौधरीले सबैले सहयोग गरेर मानवताको कार्यमा जुट्न अपिल गरिन । बेसाहाराको सहारा बनेर मानव कार्यमा जुटेको संस्थाले समाजको सच्चा अभिभावक बनेर देखाईरहेको बताइन । उनले सेवाघरमा बस्दै आएकाहरुको बसाइँ थप व्यवस्थित र दिगो बनाउन स्थायी आवासका लागि लुम्बिनी सरकारको तर्फबाट भवन निर्माणका लागि आवश्यक बजेट विनियोजनमा सघाउने प्रतिवद्धता जनाइन ।
जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले हरेक नागरिकलाई आत्मबोध गराउन मानव कल्याण समाज सेवाघरको अभियानमा सबै जोडिनुपर्ने बताए ।
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सरकारसँगको सहकार्यमा गरिएको कामले घोराहीलाई सडक मानवमुक्त बनाउन सम्भव भएको बताए । समस्याको रुपमा रहेको सडक मानव मुक्त बनाउने काममा संस्थाले ठूलो योगदान दिएको भन्दै देशबाट सडक मानवमुक्त बनाउने अभियानमा जुट्नु अहिलेको आवश्यकता रहेको बताए ।
उनले हरेक वर्ष मानव कल्याण समाज सेवाघरमा बस्दै आएकाहरुका लागि बजेट विनियोजन गर्दै आएको बताए । उनले पहिलो वर्ष ३ लाख, दोस्रो वर्ष ५ लाख, तेस्रो र चौथो वर्ष ८–८ लाख र यो वर्ष १० लाख रुपैयाँ विनियोजन भएको बताए । पालिकाले गर्दै आएको सहयोग पर्याप्त भने नरहेको उनको भनाइ थियोे । यो महायज्ञले मानसिक, शारीरिक स्वास्थ्य सुधारमा काम गर्न सघाउने बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले समाज विकासका कार्यक्रममा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँदै बजेट बढोत्तरी गर्न अपिल गरे ।
सो अवसरमा, नेकपा माओवादी दाङका ईन्चार्ज निर्मल आचार्य, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन गौतम, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति खगराज पाण्डे, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमलगायतले धारणा राखेका थिए ।
घोराही उपमहानगरपालिका वडा नम्बर. १० मा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा रहेका बेवारिसे मानवहरुको सहयोगार्थ महायज्ञबाट संकलित रकमको अक्षयकोष स्थापना गरी त्यसबाट आउने रकमले सेवाघरमा बस्दै आएकाहरुको जीवनयापनमा खर्च गरिने भएको छ । आगामी माघ २४ गतेसम्म कर्मचारी मिलन केन्द्रमा हुने महायज्ञमा प्रमुख कथावाचकका रुपमा मानव कल्याण समाजकी संस्थापक अध्यक्ष सुमी मानव रहेकी छन् । महायज्ञमा दैनिक प्रवचनसहित विभिन्न कार्यक्रम गरिनेछ ।