© 2026
कालीकोट,१७ माघ ।
अछामको कमलबजारदेखि दैलेखको साँइखोला जोड्ने ३३ केभी प्रसारण लाइन विस्तारको काम बिहीबार सुरु भएको छ।अछामको पञ्चदेवल विनायक नगरपालिका-४ साँइगाउँका स्थानीय बासिन्दाले आफ्ना गाउँमा विद्युत् नपुगन्जेल लाइन विस्तार गर्न नदिने अडान राखेपछि अवरुद्ध भएको विद्युत् विस्तारको काम सहमति पश्चात पुनः सुचारु भएको हो। स्थानीयसँगको छलफल र सहमतिले तत्कालको लागि समस्या समाधान भएको कालीकोट विद्युत वितरण केन्द्र प्रमुख हरेन्द्र राय यादवले जानकारी दिए।

पञ्चदेवल विनायक नगरपालिका-३ बेल्खेत, सयनगाउँ र वडा-४ टोड्केसालका बासिन्दाले आफ्नो क्षेत्रका बस्तीहरूमा विद्युत् आपूर्ति सुनिश्चित गर्न माग गरेका थिए।नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले आवश्यक पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराइ एक महिना भित्र साँइगाउँ, टोट्केसाल र सयनमा बत्ती बाल्ने सहमति गरेपछि स्थानीयहरूले काम गर्न सहमति दिएका हुन्। साँइखोला पुल नजिकको बजारको लागि कालीकोट विद्युत वितरण केन्द्रले ७०० मिटर तार र टोड्केसालमा विद्युत बाल्न ट्रान्सफर्मर उपलब्ध गराएपछि सहमति भएको कालीकोट वितरण केन्द्र प्रमुख हरेन्द्र राय यादवले बताए।
मुगु, जुम्ला र कालीकोटमा विद्युत् बढी खपत हुने भएकाले कालीकोट वितरण केन्द्रले डडेलधुराबाट अत्तरिया हुँदै कमलबजार जोड्ने ३३ केभी प्रसारण लाइन प्रयोगमा ल्याएको हो।डडेलधुरा–अत्तरियाबाट चमेलिया जलविद्युत् १९ मेगावाट, बझाङको कलंगा खोलाबाट ६५ मेगावाट, र अपि हाइड्रोबाट ५ मेगावाट गरी करिब १०० मेगावाट विद्युत् आयात भइरहेको छ। यो नयाँ लाइन विस्तारसँगै कर्णालीका दुर्गम गाउँका स्थानीय उज्यालोमा बस्न पाउने छन्।
