© २०२३
भैरहवा, ११ माघ ।
आफ्ना चौपायहरू जथाभावी छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले सात हजार जरिवाना गराएको छ ।
नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हालसम्म ७८ वटा गाई गोरुको व्यवस्थापन गरिएको छ । त्यसमध्ये छाडा चौपाया आफ्नो भनि दाबी गर्न आएका दुई जनालाई सात हजार जरिवाना गरेर गाई जिम्मा लगाईएको नगरपालिकाका प्रवत्ता एवं छाडा चौपाया नियन्त्रण अभियानका संयोजक भोला यादवले जानकारी दिए । छाडा चौपाय नियन्त्रणका लागी स्थानीय सरकारले गरेको निर्णय बमोजिम पहिलो पटकलाई सात हजार जरिवाना गराई आइन्दा छाडा नछोड्ने सर्तमा सम्वन्धित धनीलाई जिम्मा लगाईएको हो ।
बजारमा छाडारूपमा हिँडिरहेका चौपायहरूलाई नियन्त्रणमा लिएर अस्थायी होल्डिड्ड सेन्टरमा राखिएको र त्यहाँबाट कपिलबस्तुको बाणंगगा नगरपालिका वडा नं.२ मा रहेको गौशालामा लगेर व्यस्थापन गरिएको उनले बताए ।
छाडा चौपायाले सडकमा सवारी साधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका मेयर ईस्तिायक अहमद खानले जानकारी दिए ।
‘विशेष गरी छाडा गाइगोरुले नगरमा बढी समस्या ल्याएको छ,’ उनले भने ‘छाडा गाईगोरुका कारण सडक दुर्घटनाको जोखिमको साथै मलमुत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्ने गरेका छन् ।’
नियन्त्रणमा लिइएको गाइगोरु कसैले आफ्नो भनी दाबी गर्न आएमा न्यूनतम ७ हजार जरिवाना तिराएर दिइने अन्यथा नियन्त्रणमा लिइएका गाईगोरुलाई गौशाला लगिने गरिएको छ । सिद्धार्थनगरमा बर्सेनि छाडा गाईगोरुको समस्या विकराल बन्ने गरको छ । गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने र केही किसानले दिनभरि बजारका फलफूल, तरकारी पुलआसपास छाडी रातपरेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाईगोरुको समस्या बर्सेनि दोहोरिने गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए । नगर प्रमुख खाँले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको बताए ।