© २०२३
बुटवल, ११ माघ ।
लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको लगानीमा बुटवल १० रामानगरमा निर्माण भएको पशु बधशालामा बुटवलका मासु व्यवसायीहरू जाने भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफूहरूले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका थिए ।
बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देहीका बीचमा २५ बुँदे सहमती भएपछि मासु व्यवसायीहरूले अब बधशालाको मासु बिक्री गर्ने भएका छन् । बिहीबार बुटवलमा एक औपचारिक कार्यक्रम आयोजना गरी पशुबधशालाको मासु बिक्री गर्ने सहमती पत्र आदान प्रदान गरिएको हो । यद्यपि यो सम्झौता गत माघ ८ गते नै भएको थियो । बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना र मासु व्यवसायी समिति रूपन्देहीको तर्फबाट अध्यक्ष विशाल थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बुटवलमा हाल पशु बधशाला सञ्चालन गरिरहेको मुक्तीनाथ लाईभस्टक बैंकले दुई स्थानमा चलाएको आउटलेट बन्द गर्ने सर्त राखीएको छ भने बधशालाबाट खसी बोकाको मासु खुट्टा टाउको सहित (पूर्ण सरिर), छाला सहितका मिश्रित मासु प्रतिकिलो ८ सय रूपैयाँमा बिक्री गर्दै आएकोमा मासु व्यवसायीहरूले ८ सय ५० मा बोसो सहित भुटुवा आईटम समेत निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको हो । यस्तै थप प्रति केजिमा ८० रूपैयाँ थप गरी छाला बाहेकको मासु उपलब्ध गराउने सम्झौता गरिएको छ । स्वयं मासु व्यवसायीहरूले आफैले खसी बोका बधको लागि बधशाला लगेमा सो बापत प्रसोधन खर्च अधिकतम १००० रूपैयाँ लिँदै आएकोमा अब ६ सय रूपैयाँ कायम गरिएको छ । यस्तै सम्झौतामा विना दर्ता टोल टोलमा, हाटबजार छेउमा खुल्ला रूपमा माछा समेत विक्रि वितरण गर्दै आएका सबै प्रकृतिका मासु विक्रि वितरण कार्यलाई पूर्ण रूपमा बन्द गरिने भएको छ ।
बधशालाको मासु बध गरेको बखत कुनै पनि गुणस्तरमा सम्बन्धमा गुनासो आएमा, फरक परेमा बधशाला सञ्चालक नै जिम्मेबारी हुनुपर्ने विक्रि वितरण गर्दा कुनै गुणस्तर फरक परेमा व्यवसायी नै जिम्मेबारी हुुनुपर्ने सम्झौता गरिएको बुटवल उपमहानगरपालिका नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।यस्तै मासु व्यवसायी संघ नेपाल रूपन्देहीको कार्यालय भवन निर्माणको लागि उपयुक्त स्थानमा जग्गा प्रचलित कानून बमोजिम आवश्यक पहल नगरपालिकाले गर्ने र अन्य पसल सुधार लगायतका अनुदानका कार्यक्रममा लागि समेत नगरपालिकाले सहयोग गर्ने सम्झौता भएको नगरपालिका अनुगमन महाशाखा प्रमुख ठगीश्वर पोखरेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका हरेक समस्या समाधानको लागि नगरपालिका सकारात्मक भएर लाग्ने बताए ।बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले बधशाला बुटवलबासी र लुम्बिनी प्रदेशको लागि आवश्यकता रहेको भन्दै उनले बुटवलमा बध गरेको मासु विदेश समेत पठाउन सकिने गरि योजनना ल्याईएको बताईन् ।मासु व्यवसायी संघ नेपाल रूपन्देहीका अध्यक्ष विशाल थापाले सम्झौता उल्लेख गरिएको बुँदा पूर्णरूपमा पालन गर्नको लागि दुबै पक्ष सचेत हुनुपर्ने बताएका थिए ।