© २०२३
काठमाडौं, १० माघ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्वभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै बिस्तृत अध्ययन गरि तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण गर्न तथा नियमित रूपमा परिक्षण गर्न मूल्य निर्धारण सम्बन्धी प्रविधिको बिकास गर्दै प्रयोगमा ल्याउन उद्योग मन्त्रालय र सम्बन्धित निकायलाई समेत निर्देशन दिएको छ ।
बैठकले सिमेन्ट उद्योगमा लोडसेडिङ भएको जानकारी आएकाले सो विषयमा ऊर्जा मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अघोषित लोडसेडिङका कारण उत्पादनमा ह्रास आएकाले केही मूल्यवृद्धि भएको हुनसक्ने बताए । उनले सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय गरेर यससम्बन्धी समस्याको समधान गर्ने बताए । विभिन्न कम्पनीले उत्पादन गरेका सिमेन्टको मूल्य फरक–फरक देखिएकाले एउटै मूल्य निर्धारण गर्ने गरि अघि बढ्ने उनले बताए ।
त्यस्तै बैठकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले राज्यको मिलोमतोमा सिमेन्टको मूल्यवृद्धि भएको आरोप लगाए । सिमेन्टको मूल्यवृद्धिमा तत्काल पुनर्मूल्याङ्कन हुन नसके आयोजनाको लागत बढ्ने उनले बताए । समिति सदस्यले समेन्टको मूल्यवृद्धिको कारणबारे अध्ययन गरी यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।