Butwal Today

सल्यानमा फेला परेको ग्रीनेड बम सुरक्षित रूपमा निष्क्रिय

९ माघ २०८१, बुधबार
अ+
अ-

सल्यान, ९ माघ।

सल्यानको कपुरकोट गाउँपालिका-४, किमुचौर स्थित रिपिटर टावर नजिकै भेटिएको ग्रीनेड बम नेपाली सेनाले बुधबार बिहान सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

स्थानीयले झाडी सरसफाइ गर्ने क्रममा बम फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले ग्रेनेडलाई सुरक्षित रूपमा निष्क्रिय पारेको हो।

उक्त क्षेत्रमा द्वन्द्वकालमा सेनासहितको संयुक्त सुरक्षा फौजले रिपिटर टावरको सुरक्षा गर्दै आएको थियो। सोही समयमा ग्रेनेड छुटेको हुन सक्ने अनुमान गरिएको छ। ग्रेनेड बममा खिया लागेको अवस्थामा फेला परेकोले यो पुरानो भएको प्रहरी निरीक्षक बस्नेतले बताए।

यस घटनाले द्वन्द्वकालका समयमा छाडिएका विस्फोटक पदार्थ अझै जोखिमपूर्ण अवस्थामा फेला पर्ने सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?