© 2026
रौतहट, ८ माघ ।
पूर्व पश्चिम राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरस्थित मोबाईल लुटपाट गर्ने र लागुऔषध सहित ३ जना पक्राउ परेका छन्।
चन्द्रनिगाहपुर ट्रमा सेन्टर अस्पताल अगाडि प्रहरीको टोलीले विशेष सूचनाको आधारमा चन्द्रपुर–४ का ३४ वर्षीय प्रचण्डबहादुर थापालाई चेकजाँच गर्दा १ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो।
थापामाथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा लागूऔषध सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको डिएसपी राजकुमार राईले बताए।
उता चन्द्रनिगाहपुरस्थित अरुण आयल स्टोर्स अगाडि बाटोमा मोबाईल लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका १, दिपही टोलका हेमचन्द्र राय यादव राति मोबाईलमा कुरा गरिरहेको क्रममा चन्द्रपुर नगरपालिका ४, पैनी टोलका किसन साहले पछाडिबाट आएर झापडले हिर्काउँदै लछारपछार गरी मोबाईल लुटेर लगेका थिए।
लुटिएको मोबाईल स्थानीय काली मनिषा उर्फ सोनम साह कलवारलाई दिएर दुबै जना फरार भएका थिए। पीडितको उजुरीको आधारमा प्रहरीको अनुसन्धानपछि मोबाईलसहित लुकिछिपी बसेको अवस्थामा दुवै जना आरोपीलाई पक्राउ गरिएको हो। अभियुक्त दुवै जनामाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।