विराटनगर।
मोरङको विराटनगरको ३ नं. वडा समितिका १८ जनाले नेकपा एमालेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। उनीहरूले पुस २५ गते बसेको महानगर कमिटीको पदाधिकारी बैठकको निर्णयसँग असहमतिपूर्वक राजीनामा गरेका हुन्।

राजीनामा दिनेमा वडा अधिवेशन आयोजक समितिका उपसंयोजक हिरा बस्नेत रिजाल, उपसचिव कुशला काफ्ले निरौला, सदस्यहरू गौरीशङ्कर रेग्मी, दिलीप श्रेष्ठ, सीता कट्टेल, नारायण सुवेदी, तुलसी सुवेदी, चुँडामणि तिम्सिना, पुष्प आचार्य, लक्ष्मण थापा, दलमान तामाङ, भगवती पोखरेल, होम निरौला, अन्नपूर्ण पोखरेल, अर्जुन कटुवाल, बिराज अधिकारी, उपाध्यक्ष सिवाकोटी लगायतका सदस्यहरू रहेका छन्।
सामूहिक राजीनामा पत्रमा भनिएको छ, “पार्टी नेतृत्वले सामूहिक छलफलको माध्यमबाट समस्याको समाधान गर्नु पर्ने थियो, तर कसैसँग परामर्श नगरी, बिना जानकारी ३ नं. वडा अधिवेशन आयोजक कमिटीको नामावलीमा सङ्गठित सदस्यता नलिएका तथा अन्य पार्टीका व्यक्तिहरू समावेश गरिएको पाइयो, जुन अत्यन्तै दुःखद हो।” साथै, उनीहरूले लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरेर माथिल्लो कमिटीबाट गठन गरिएको नेतृत्वमा काम गर्न असमर्थ रहेको बताएका छन्।
सामूहिक राजीनामा पत्रमा उल्लेख गरिएको छ कि नामावलीमा रहेका सदस्यहरू मध्ये सन्दीप थापा, राम भट्टराई, ब्रम्हकुमारी पराजुली, श्याम पौडेल, सुशील रेग्मी, उमा निरौला, रीता घिमिरे, अप्सरा श्रेष्ठ, तुलसी सुवेदी, कृष्ण रिजाल, स्वीकारजंग बस्नेत र तेजु कटुवालका नाम छन्, जो पार्टीका सङ्गठित सदस्य पनि छैनन्।
यसअघि, एमाले विराटनगर कमिटीको बैठकले महानगर कमिटी सदस्यको रूपमा केही व्यक्तिहरूलाई मनोनीत गरेपछि वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटाले पनि राजीनामा दिएका थिए। उनले पार्टीको कुनै पनि जिम्मेवारी नलिने चेतावनी दिएका थिए, यदि वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरिएको कारबाही फिर्ता नगरेसम्म यस घटनाले एमालेको विराटनगर शाखामा आन्तरिक विवादलाई झल्काएको छ, र पार्टीको आगामी रणनीति र नेतृत्वको भूमिका बारे गम्भीर प्रश्न उठाइरहेको छ।



