Butwal Today

कोशी प्रदेशका पुर्व मुख्यमन्त्री माथि भएको आक्रामणको कांग्रेसद्धारा भत्सर्ना

६ माघ २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ६ माघ ।

नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको कडा भर्त्सना गरेको छ।

आइतबार जारी गरिएको विज्ञप्तिमा कांग्रेसले केही व्यक्तिहरूले झापामा कोशी प्रदेश सभापति र संसदीय दलका नेता थापामाथि गरेको आक्रमणको घोर निन्दा गरेको छ। कांग्रेसले यस घटनामा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीको माग पनि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस कोशी प्रदेश सभापति र संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि गरिएको आक्रमणको घोर निन्दा गर्दछ।” थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै कन्काई नगरपालिकाको सुरुङ्गा नजिक आक्रमणमा परेका थिए। उक्त घटनामा थापाको निधारमा चोट लागेको थियो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन्, “उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीको माग गर्दछ।”