© २०२३
बुटवल, ६ माघ । बुटवल उपमहानगरपालिका वडा नं ३ को आयोजनामा एक दिने वृहत निशुल्क स्वास्थ्य शिविर संचालनमा गरिएको छ । वडा कार्यालयको आयोजना तथा औषधी बिक्री प्रतिनिधी संघ, लुम्बिनी प्रादेशिक अस्पताल, नेपाल औषधी तथा विक्रेता प्रतिनिधि संघ, साथी फार्मेशी, आरोग्य हेल्थ केयर र थाइरो ल्याव प्रालि लगायतको सहकार्यमा वडा कार्यालय परिसरमा भएको कार्यक्रममा करिब ४ सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको वडा अध्यक्ष विष्णु प्रसाद ढकालले बताए ।
शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षा र स्वास्थ्य जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा प्राथमिकता दिएर जनप्रतिनिधिहरु कार्यक्रमहरु संचालन गरेको बताए । मानव जिवनका लागि स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकाले नगरबासीका लागि स्वास्थ्य सम्बन्धी महत्पुर्ण कार्यक्रमहरु संचालन गरिएको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले जनतालाई प्रत्यक्ष रुपमा स्थानिय सरकारको महशुस गराउनु मुख्य लक्ष रहेको बताएका छन् ।
बुटवल उपमानगरपालिका वडा नं ३ का अध्यक्ष विष्णु प्रसाद ढकालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरि नागरिक प्रतिको उत्तरदायित्व पुरा गर्न आफुहरु निरन्तर लागेको बताए । आर्थिक अवस्था कमजोर भएका वडावासीहरुलाई मध्येनजर गरेर निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको उनले बताए । शिविरमा बिशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परिक्षणका साथै, औषधी बितरण, ल्याव परिक्षण, एक्सरे लगाएतका सम्पुर्ण सेवाहरु प्रदान गरिएको थियो । शिविरमा आर्थिक रुपमा विपन्न ४५ जनाको निशुल्क रुपमा स्वास्थ्य विमा वडा मार्फत नै गरिएको उनले बताए ।
कार्यक्रममा नेपाल औषधी तथा विक्रेता प्रतिनिधि संघका कार्यक्रम संयोजक थानेश्वर वस्यालले शिविरमा पेट, छाति तथा मुटु रोग विशेषज्ञ सेवा, नाक कान घाटी रोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, मुख तथा दन्त रोग विशेषज्ञ सेवा, निःशुल्क भिडियो एक्सरे सेवा, निःशुल्क ल्याव परिक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको जानकारी गराए ।