© २०२३
चन्द्रौटा, ५ माघ ।
समयथान बहुमुखी क्याम्पसको अध्यक्षमा ईश्वरीप्रसाद पाण्डे चयन भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर- ४, खरेन्द्रपुरमा स्थित क्याम्पसको शनिबार भएको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनी चयन भएको क्याम्पसले जनाएको छ।
यस्तै उपाध्यक्षमा बलराम मरासिनीसहित ९ सदस्यीय समिति गठन भएको हो। त्यसैगरी क्याम्पसको लेखा समिति संयोजकमा झविलाल भण्डारीसहित ३ सदस्यीय समिति गठन भएको शिक्षक थानेश्वर भुसालले जानकारी दिए।
यसैबीच पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले पछिल्लो समय शैक्षिक स्तर निकै खस्किएको बताए। उनले भने, “एसईई +२ नसकिदै वैदेशिक शैक्षिक अध्ययनतर्फ तयारी गर्नु विडम्बना रहेको छ। जति सक्दो स्वदेशमै बसेर शिक्षासँगै रोजगारीको वातावरण सिर्जना गर्न आवश्यक छ।” क्याम्पस लगायत विद्यालयको संरचनामात्रै नभएर शैक्षिक गुणस्तर पनि सबैको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए।
लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले खासगरी ग्रामीण क्षेत्रका विद्यार्थीलाई क्याम्पससँग जोड्नुपर्ने जिकिर गरे। शिवराज नगरपालिकाका मेयर अजय थापा, वडा नम्बर ४ का वडा अध्यक्ष नसिम अहमद खाँ, वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, शिक्षक नामदेव खनाल, समाजसेवी प्रेक रायमाझी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए। जग्गादाता ईश्वरीप्रसाद पाण्डे र वडा अध्यक्ष सापकोटालाई सम्मानपत्रले सम्मान समेत गरिएको थियो।