Butwal Today

नेकपा एस निकट प्रेस संगठनको नेतृत्व रित्तियो, अध्यक्षसहित पदाधिकारी चौतारीमा प्रवेश

४ माघ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, ४ माघ ।

नेकपा एस निकट पत्रकार संगठन, नेपाल समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुबेदीले प्रेस चौतारीमा प्रवेश गरेका छन्। यससँगै संगठनका अन्य उच्च पदाधिकारीहरू पनि प्रेस चौतारीमा सामेल भएका छन्।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायत अन्य नेताहरूले अध्यक्ष सुबेदीलाई स्वागत गरेका थिए। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरूको उपस्थिति थियो।

सबेदीसँगै नेपाल समाजवादी प्रेस संगठनका उपाध्यक्ष नरेन्द्र साउँद र सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र र केन्द्रीय सल्लाहकार माधव पौडेल पनि प्रेस चौतारीमा सामेल भएका छन्।

यसै बीच, प्रेस चौतारीमा प्रवेश गरेपछि नेपाल समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सुबेदी र अन्य पदाधिकारीहरूको निष्कासनको जानकारी दिएका छन्। विज्ञप्तिमा उल्लेख गरिएको छ कि अध्यक्ष सुबेदीले संगठनको बैठकमा सक्रियता जनाएका थिएनन्, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवारविरुद्ध काम गरेका थिए, संगठनको कोषमा अनियमितता गरेका थिए र संगठनको विरोधमा काम गरिरहेका थिए, त्यसैले उनीहरूलाई बिधान अनुसार निष्कासन गरिएको जनाइएको छ।