© २०२३
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा पुर्याउन र विकासको गति द्रुत बनाउन सरकारको तर्फबाट विभिन्न कानूनमा संशोधन गर्न अध्यादेश ल्याइएको बताएका छन्। उनले आगामी १५ दिनभित्र संसद अधिवेशनको समयमा यसलाई पेस गर्ने र दुई महिनाभित्र पारित गरिने दाबी पनि गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “जनतालाई सेवा दिन र व्यवसायीलाई सकारात्मक सहयोग गर्न हामीले अध्यादेश ल्याएका हौं।” उनले यसका विरोधकर्ताले अध्यादेशलाई ‘शासन गर्न खोज्नु’ भनेको दाबी गरे पनि सरकार भने कानूनमा सुधार गरेर काम अघि बढाउने अडिग रहेको बताए।
प्रधानमन्त्री ओलीले थपे, “१५-२० दिनभित्र संसद आइसक्छ, त्यहाँ पेस गर्छौं, छलफल गर्छौं र कामलाई अगाडि बढाउँछौं। हामी दुई महिनाभित्र सबै निर्णय टुंग्याउँछौं। महत्वपूर्ण कुरामा दुई महिना कुर्न सक्दैनौं। काम गर्न कानून फेरेरै अगाडि बढ्छौं।”
साथै, उनले मुलुकको समृद्धिका लागि आयातित फोसिल फ्यूलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाउनका लागि सरकार दृढ रहेको बताएका छन्।