© २०२३
काठमाडौं, २९ पुस।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ७८ वर्षीय वैद्यलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।
पारिवारिक स्रोतका अनुसार, हाल केही सुधार भइरहेको छ र छिट्टै उनलाई वार्डमा सार्ने बारेमा छलफल भइरहेको छ। स्रोतले अनलाइनखबरसँग भन्यो, “बोली र खानपान ठिकै छ। अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ। त्यसैले एक–दुई दिनमै वार्डमा सार्न सकिन्छ भनेर डाक्टरहरुले भन्नु भएको छ।”
वैद्यको अक्सिजनको स्तर बेला-बेला तलमाथि हुने भएपछि उनलाई आईसीयूमा राखिएको हो। स्रोतले थप भन्यो, “बेला-बेला स्वास्थ्य निकै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो। अहिले सुधार भएको जस्तो देखिन्छ।”
श्वासप्रश्वासमा समस्या आएपछि मोहन वैद्य किरण पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्।