© २०२३
दाङ,२८ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य सन्तोष परियारले देशको आमुल परिवर्तनका लागि नयाँ राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्रपार्टीको प्रथम दाङ जिल्ला भेलालाई शनिबार घोराहीमा सम्बोधन गर्दै उहाँले देश विकासका नारा लगाएर जनतामाथि झुठको खेती गर्नेहरुबाट सावधान रहँदा नयाँ शक्तिमाथि विश्वास गर्न आग्रह गरेका हुन् ।
उनले अहिलेको जनताको माग र आवश्यकता एकातिर राखेर ठूला दलहरु निहित स्वार्थमा केन्द्रित हुँदा मुलुकले निकास पाउन नसकेको बताए । यसका लागि अब देशको व्यवस्था परिवर्तनमा भुमिका खेले जस्तै नागरिकले चुनावका माध्यमबाट नेता परिवर्तनमा ध्यान दिनुपर्ने बताए । उनले भने ,‘पार्टी सभापति माथि गरिएको प्रहारलाई चिरेर अघि बढ्ने संकल्प लिन आवश्यक छ । समाज रुपान्तरणमा पार्टीको भुमिका बढाउन हामी सबै लागौँ ।’
उक्त भेलालाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोविता गौतमले कसैले कसैलाई जितेर एक्लै कोही पनि अघि बढ्न नसक्ने हुँदा देश र समाज बदल्न सबै बदलिन जरुरी रहेको बताइन् ।
एउटा निर्वाचनमा गरिएको गल्ती सच्याउन पाँच वर्ष कुर्नुपर्ने भन्दै अब आउने निर्वाचनमा देश र जनताको हीतमा काम गर्ने युवाहरुलाई अघि बढाउन विवेकको सही सदुपयोग गरेर मत दिन आग्रह गरिन ।
पछिल्लो राजनीतिक घटना क्रम बारे बोल्दै सांसद गौतमले आफ्नो पार्टी सभापति रवि लामिछानेले कसैको १ रुपैयाँ पनि नखाएको दावी गरिन । उनले अहिलेको मुद्धा अदालतमा विचाराधीन रहेको भन्दै अदालतले भोलि प्रमाणित गर्ने हुँदा आफु पार्टी क्याडरका रुपमा पार्टी सभापति लामिछानेले गल्ती नगरेकोमा विश्वस्त रहेको बताइन् । लामिछाने माथि गरिएको आरोप राजनीतिमा आउन नदिने षड्यन्त्र मात्रै भएको उनको तर्क थियो ।
यसैगरी उनले लामो समयदेखि संसद नागरिकका आवाज उठाउने ठाउँ नै सरकारले रोकेको बताइन् । ‘गत भदौ ३१ गते बन्द भएको संसद अहिलेसम्म बन्द छ । जनताको आवाज उठाउने ठाउँ चल्न दिईएको छैन । संसद बन्द गरेर चोर बाटोबाट अध्यादेश ल्याउने काम भएको छ । संविधान संशोधन पनि त्यही अध्यादेशबाट हुन्छ कि भन्ने डर लागि सक्यो । जनताको कुरा सम्बोधन गर्ने ठाउँ रोकिनु जनमतको दुरुपयोग हो’ उनले भनिन् ।
प्रथम जिल्ला भेला आयोजक समितिले आयोजना गरेको कार्यक्रममा रास्वपा प्रदेश प्रमुख देवराज पाठक, केन्द्रीय विकास योजना तथा नीति तर्जुमा विभाग राष्ट्रिय सचिव विशाल अधिकारी, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी, प्रदेश शिक्षा विभाग प्रमुख सुशील अधिकारीलगायत बोलेका थिए ।
जिल्ला भेलाले अब नयाँ समिति बनाउँदै पूर्णता दिने बताईएको छ । जिल्लामा २१ सदस्यीय समिति रहने प्रावधान अनुसार शनिबारको भेलाले पाँच पदाधिकारी, चार सदस्य, पालिका सभापति पदेन सदस्य १० जना र २ जना थप सदस्य चयन गर्नेछ ।