© 2026
बर्दघाट, २८ पुस । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सँस्थाले खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका कार्यसमिति, खानेपानी सुरक्षा समिति, सचेतना समूह, सस्थाको कार्यक्षेत्र भित्रका टोल विकास संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका र नगरभित्रका खानेपानी संस्थाका व्यवस्थापकहरुको लागि खानेपानी सुरक्षा योजना सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
खानेपानी सुरक्षा योजनाको आवश्यकता, यसको सञ्चालन, खानेपानी सुरक्षा समितिको काम र यसले सुरक्षित खानेपानी सुनिश्चितताका लागि खेल्न सक्ने भूमिका लगायतका बिषयमा जानकारी गराउने उद्देश्यले यस सम्बन्धी अभिमुखीकरण गरिएको संस्थाका अध्यक्ष दिपक लम्सालले बताए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वडा नं. ४ का वडाध्यक्ष बेदबिना तिवारीले संस्थाले वितरण गर्ने खानेपानी मुहान देखि उपभोक्ताको मुख सम्म पुग्दा मापदण्ड अनुसारको शुद्धता र गुणस्तर कायम गर्न चुनौती रहे पनि बर्दघाट खानेपानीले हाल सम्म मापदण्ड अनुसार नै खानेपानी उपलब्ध गराउँदै आएको बताए । उनले पानीको मुहानको संरक्षण र सरसफाइ तथा पानीको शुद्धतामा संस्थाले विशेष ध्यान दिनुपर्ने मा जोेड दिएका थिए । खानेपानी शुद्धताको विषय प्रत्यक्ष रुपमा मानव स्वास्थ्य सँग जोडिएको विषय भएकोले थोरै मात्र ध्यान नपुगे यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यसको लागि खानेपानी सुरक्षा योजना समिति सदैव चनाखो हुनुपर्नेमा उनको जोड थियो ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ट ल्याव टेक्निसियन खिमलाल पाण्डेयले गरेका थिए । उनले खानेपानी सुरक्षा योजनाका चरण, नेपालमा खानेपानीको अवस्था, पानीजन्य रोग र सरोकारवालाहरुको भूमिकाका बारेमा जानकारी गराउँदै प्रशिक्षण दिएका थिए । संस्थाका ब्यबस्थापक विष्णु कुमार भुसालले संस्थाको बित्तिय र भौतिक गतिविधि प्रस्तुत गर्दै समय समयमा हुने यस्ता खालका कार्यक्रमले संस्थालाई थप शसक्त र मजबुत बनाउँदै लैजाने बताए ।
सँस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना टोलीले आयोजना गरेको कार्यक्रममा सँस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा समितिका संयोजक कमल थापाले सुरक्षित खानेपानीको बारेमा उपभोक्ताहरुलाई पनि सचेत गराउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै थप शसक्त बनाईने बताएका थिए ।