© २०२३
युवा महान शक्ति हुन् । युवा परिवर्तनका बाहक हुन् । युवा अघि नबेढे देश बन्दैन् । देश बनाउन युवाहरू तातिनु पर्छ आदि इत्यादि अहिले चलन चल्तीका भनाई सामाजिक सञ्जाल लगायत औपचारीक कार्यक्रमहरूमा खुब सुन्न पाइने शब्दहरू हुन् । तर युवा कसलाई मान्नेमा बिमर्श कमै भएका छन् । पचास कटिसकेका नेतालाई उनका अनुयायीहरूले युवा नेता भनेरै सम्बोधन गर्ने गरेका छन् । बिहानै बिहान राशीफल नसुनी कुनै काम नथाल्ने पच्चिस बर्षे महिला पुरूषले पनि आफूलाई युवायुवतीकै श्रेणीमा उभ्याउँ छन् । कर्मशील एवं प्रगतिशील सत्तरी बर्षका जो कोही महिला र पुरूषलाई बृद्धबृद्धाको समूहमा राखिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचन र निर्वाचनपछि स्मार्ट शब्दले निकै लोकप्रियता पाएको थियो । स्थानीय नेताहरू स्मार्ट सिटी, स्मार्ट नगर, स्मार्ट गाउँपालिका, स्मार्ट परिवार, स्मार्ट घर, स्मार्ट बाटोको सपना देखाउँदै जनता झुक्याउने काम खुब गरे । शब्दकै कारण उनीहरू पत्रपत्रिकामा खुबै प्रचारमा आए र क्षणिकरुपमै भएपनि सस्तो लोकप्रियता पनि कमाए । जुन किसिमले उतिखेर स्मार्ट शब्दले जनतालाई लठ्ठ बनाएर आफनो दुनो सोझाए त्यसैगरि यतिखेर युवा शब्दलाई मार्केटिङ्ग गरिदै छ । देशको धेरै निर्वाचन क्षेत्रमा युवाहरू प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये थोरैमात्र राजनीतिक दलबाट छन् भने धेरैजसो स्वतन्त्र रूपमा छन । यहाँसम्म कि स्वतन्त्र पार्टी पनि दर्ता गराई युवाको प्रतिनिधि भन्दै देशलाई गुमराहमा पार्ने काम पनि भैरहेको देखिएको छ । उनीहरूसँग न कुनै राजनीतिक दर्शन छ, न कुनै बिचार छ, न देशलाई हाँक्ने कुनै स्पष्ट रोडम्याप नै छन् । देश संचालन गर्ने कुनै लामो दिर्घकालीन योजना पनि छैन् । उनीहरूसँग एउटामात्रै राजनीतिक मसला छ । त्यो राजनीतिक मसाला भनेको बुढाहरूले देश बर्वाद बनाए अव उनीहरूलाइ फाल्नु पर्छ र युवाहरूलाई राजनीतिमा अवसर दिनुपर्दछ । केवल समस्याका चाङ देखाउँदै आफूलाई अब्बल सावित गर्दैछन् । नेताको काम समस्या देखाउने होइन्, समस्या खुट्टयाउने हो र समाधान दिने हो ।
स्थानिय निर्वाचनमा काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले शानदार जीत हात पारेपछि त्यसै किसिमले देशको हरेक ठाउँमा परिवर्तन हुनुपर्दछ भन्ने अधिकांश युवाहरूको दिमागमा उठेको हुन सक्दछ । तर, अहिलेसम्म बालेन शाहले प्रचारात्मक काम बाहेक केही गर्न सकेका छैनन् । सार्वजनिक जग्गा खाली गरि बाटो चौडा बनाउने काममा निरन्तर डोजर चलाएको, सम्बन्धित ठाउँमा आफै गई नागरिकसँग चर्काचर्की बहस गरेको र त्यसैलाई उनका फ्यानहरू मसला बनाई देशभरि देवत्वकरण गरेको बाहेक उनले केही काम गरेको देखिदैन । र, पनि युवाहरूको ओँठमा बालेन बालेन बालेन झुण्डेको देखिन्छ । उनका गार्डहरू गल्ली र सडकका केही पेटीहरूमा चिया चटपटे बेचेर गुजारा गरिरहेका गरिब गुरुवाको दिनदिनै गरिरहेका दुर्दशा बारे एक शब्द पनि बोल्न सकेका छैनन् उनी । उनको कर्तुतमा मानवताको सवाल उठाउनेमाथि उनका साइबर सेनाहरूले कडा प्रहार गरेको देखिन्छ । उनका साइबर सेना खडक प्रसाद ओलीको अरिङ्गाल सेनाभन्दा कम छैनन् । राजपरिवारसँग खानदानी सम्बन्ध रहेको बालेनले समय समयमा आफू पनि राजाबादी रहेको संकेत दिइरहेका हुन्छन् । आफूलाई युवा एवं बुद्धिजीवीको कित्तामा राख्ने गरेका पूर्व बीबीसीका पत्रकार रबीन्द्र मिश्रले बैकल्पिक राजनीति थाल्ने उदघोष गरे तर केही दिनमै दुईसय पचास बर्षे राजतन्त्रको हली बनेर राप्रपामा प्रबेश गरि अहिले काठमाण्डौमा चुनाव लड्दैछन् । कांग्रेसको राजनीतिसँग नजिक रही काम गरेका अर्का पत्रकार रबि लमिछाने अहिले स्वतन्त्र नामको पार्टी नै बनाएका छन । आफू चितवनबाट चुनाव पनि लडेका छन् । उनीसँग कुनै राजनीतिक दर्शन छैन् । कुनै ठोस योजना छैन् । केवल उनीसँग राजनीतिक दलका कमी कमजोरी नै उनको घोषणपत्रमा छन् । यी र यस्ता धेरै युवा छन, जो बालेनले लिएको लौरो चिन्ह, स्वतन्त्र पार्टी र राप्रपाको चुनाव चिन्हमा निर्वाचनमा भाग लिएका छन् । मतदातालाई भ्रमित पार्दैछन् । दुईसय पचास बर्षसम्म नागरिक अधिकार र विकासको घामबाट बञ्चित राखेको व्यवस्थाको वकालत गर्दैछन् । जुन व्यवस्थाले उनलाई पार्टी खोल्ने, स्वतन्त्र रूपमा बोल्ने अधिकार दिएको छ । जुन व्यवस्थाले आम नागरिकलाई मौलिक हकले सुसज्जित गरेको छ । त्यसैको खिलाफमा लडदैछन् । लाखौलाख नागरिक सडक संघर्ष गरि फालेको राजतन्त्रको वकालत पनि गर्ने र आफूलाई युवा पनि भन्ने कुरा आफैप्रति र आम नागरिकप्रतिको धोका हो, षडयन्त्र हो । त्यस्तालाई युवा भन्न सकिदैन् र भन्न पनि मिल्दैन । प्रतिगमनका मतियारलाई युवा भन्नु र सवै गेरूवा बस्त्रधारीलाई साधु मान्नु एउटै कुरा हुन् । राजनीति बिगारेको पनि यिनै दोहोरो चरित्रवालाले नै हुन् । यसको मतलव स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिएका सबै युवालाई गलत सावित गर्न खोजेको होइन् । काठमाण्डौमै निर्वाचनमा लडेका बिबेकशील साझाका मिलन पाण्डेय, झापामा स्वतन्त्र उमेदवारी दिएका युग पाठक जस्ता संघीय लोकतान्त्रिक गणतन्त्रप्रति समर्पित युवाहरूलाई नागरिकले सम्मान पनि गर्नुपर्दछ । राजनीतिक दलहरूले आ–आफ्ना पार्टीमा युवालाई टिकट नदिएकोमा, युवाहरूको प्रतिनिधित्व घटाएकोमा बिरोध गर्नुपर्छ । बिद्रोही पनि बन्नु पर्छ । तर, बैचारिक स्खलन होइन् । नागरिकको भावनासँग खेलवाड गर्नु हुदैन् ।
राजनीतिभन्दा सामाजिक अभियानमा पनि कम समस्या छैन् । चलचित्रकर्मी पल शाह, चर्चित खेलाडी सन्दीप लामिछाने जस्ता व्यक्ति नाबालिकाको बलात्कार गर्दा उल्टै पीडितमाथि आरोप लगाउने, बलात्कार जस्तो जघन्य अपराधको वकालत गर्ने बृद्धबृद्धाको जमातभन्दा युवा भन्ने जमात नै अगाडी छ । समाजमा अन्धविश्वास फैलाउने, सांस्कृतिक पर्वलाई धार्मिकमा रूपान्तरण गर्ने युवा भन्नेको जमात अगाडी देखिन्छन् । कुनै परीक्षामा भाग लिनु पूर्व बिहानै राशीफल हेर्ने । पढाईभन्दा पूजापाठमा अधिक समय बिताउने, जातपात र छुवाछुतको वकालत गर्ने, सामाजिक अभियानलाइ पश्चिमा एजेण्डा मान्ने, धर्म परिवर्तनमा आफनो धर्मको दोष कत्ति पनि नदेख्ने युवा भन्नेको जमात बहुसंख्यक छ । मधेशीमाथि बिभेद हँुदा पहाडीले गल्ती नदेख्ने, मुस्लिममाथि अत्याचार हँुदा हिन्दूले श्रीरामको नारा लगाउने र हिन्दूमाथि अत्याचार हुँदा मुस्लिमहरूले जस्म मनाउने प्रबृतिमा युवा भन्नेकै जमात बहुमतमा छन् । युवा उमेरमात्र होइन बिचार पनि हो । बिचारले प्रतिगमन र उमेरले प्रगतिशील हुनेलाई युवा मान्न मिल्दैन । युवा हुनको लागि विचार प्रगतिशील हुनु जरुरी छ, जुन अहिलेको युवाहरूमा कमै देखिन्छ । जुन निकट भबिष्यमा उनैकै लागि घातक हुनेछ । समयमा सचेत बनौं ।