© २०२३
चितवन ।
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्ती नदीमा छोडेको छ। गत साउनदेखि तीन चरणमा एक भालेसहित ४१ गोही नदीमा छोडिएका हुन्।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष थप ६० गोहीलाई नदीमा छोड्ने योजना रहेको छ। गत वर्ष १०५ गोही नदीमा छोडिएका थिए। राप्ती र नारायणी नदीमा हालसम्म कुल १,९९८ गोही मुक्त गरिसकिएको थापामगरले बताए।
घडियाल गोही नेपाल र भारतमै पाइने सङ्कटापन्न प्राणी हो। सन् १९७५ मा चितवनमा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो। यसका संरक्षणका लागि विभिन्न कदम चालिएको छ, यद्यपि नदीजन्य प्रदूषण र मानवीय चहलपहलका कारण गोहीहरूको प्राकृतिक बासस्थानमा समस्या देखा परेको छ।