© २०२३
देउखुरी,२४ पुस ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन पुस २७ गते हुने तय भएको छ । नौ पदका लागि ३० उम्मेदवारको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ ।
अध्यक्ष, कोषाध्यक्ष, र सचिव पदमा चार–चार जनाको उम्मेदवारी परेको छ भने अन्य पदहरूमा तीन–तीन जनाको प्रतिस्पर्धा हुने निर्वाचन मण्डलका संयोजक मनिराम केसीले जानकारी दिए । कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नगरेको बताइएको छ ।
अध्यक्ष पदमा विनोद कुमार पाण्डे, उपाध्यक्षमा शिवा चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा हल्लु प्रसाद चौधरीसहितका उम्मेदवार छन् । अध्यक्ष पदमा सनम कुमार पौडेल, उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा सुधिर कुमार रेग्मी, कोषाध्यक्षमा दिनेश आचार्यसहित अन्य उम्मेदवार छन् ।
अध्यक्ष पदमा श्याम खनाल, उपाध्यक्षमा हुमा कुमारी पाण्डे ‘सपना’, सचिवमा ऋषिराज रावत क्षेत्री र अन्य पदमा पनि दलीय सहमतिमा उम्मेदवार खडा गरिएको छ । लमही खानेपानी संस्थाको सेवा लमही नगरपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका केही स्थानसम्म फैलिएको छ । यसपटक निर्वाचनमा ४,९९८ मतदाताले सहभागिता जनाउनेछन् । संसदीय झल्को दिनेगरी हुने यो निर्वाचनले लमही खानेपानीको आगामी नेतृत्व चयन गर्नेछ ।