© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरु कायम नरहेको र सबै साथीहरु वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन्।
एमालेको केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु कायम नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गरे।
‘एमालेमा अब कुनै पनि पूर्वसमूहरु छैन,’ ओलीको भनाइ छ, ‘हामीले पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ। भरभराउँदो आजको एमाले खोजौँ। हामी यथास्थितिवादी होइनौँ। क्रान्तिकारी हौँ। हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो। हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ।’
ओलीले विगतमा एकीकृत पार्टीलाई विभाजित गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरु लागेको आरोप लगाउँदै आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने खालको गुटबन्दी र अराजकता अस्वीकार्य नहुने स्पष्ट पारे।
उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेससहितको वर्तमान सरकारको तर्फबाट गर्नपर्ने कामहरु सक्दो गर्दै जाने विश्वास दिलाउँदै आफूहरु चुनावदेखि चुनावसम्मको केवल सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको स्पष्ट गरे।