© २०२३
काठमाडौं, २३ पुस ।
गृहमन्त्री रमेश लेखक ले गैरआवासीय नेपाली नागरिकता को पूर्ण कार्यान्वयनमा देखा परेका समस्याहरू छिट्टै समाधान हुने बताएका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी को नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकता को कार्यान्वयनमा आउने जटिलताहरूको समाधान संसदको आगामी हिउँदे अधिवेशन बाटै गरिने प्रतिबद्धता जनाएका हुन्।
गृहमन्त्री लेखकले भने, “सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसँगै नेपालको विद्यमान कानुनमा रहेका समस्याहरू, कानुन र नियमावलीको संशोधनका उपायहरू, र विभिन्न व्यवहारिक स्थानहरू जस्तै अध्यागमन, मालपोत, कम्पनी, बैंक र अन्य क्षेत्रमा रहेका समस्याहरू तुरुन्त समाधान गर्नका लागि बृहत छलफल पछि एक दर्जनभन्दा बढी ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुनेछ।”
यसअघिको भेटमा डा. केसी ले भने, सरकारले विदेशमा बसोबास गर्ने नेपालीलाई नागरिकता दिन थाले पनि, संविधानिक रूपमा यसको कार्यान्वयन नहँुदा नागरिकता प्राप्त गरेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरू निराश भएका छन्। यसबारे गृहमन्त्रीले उक्त प्रतिबद्धता जनाएका हुन्।
अध्यक्ष केसी ले थप भने, “गैरआवासीय नेपाली नागरिकता नहुँदा नेपालमा लगानीका लागि पनि समस्या उत्पन्न भइरहेको छ।” यसमा गृहमन्त्री लेखक ले जवाफ दिदै नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको जानकारी दिएका थिए।
गृहमन्त्री लेखकले भने, “सरकारले नै लगानीका लागि आउनुस् भन्नुपर्नेमा, तपाईहरू आफैं आफ्नो देशमा लगानी गर्न आउनुभएको छ। नेपालको विद्यमान कानुनमा रहेका समस्याहरू र कानुन तथा नियमावलीको संशोधनका लागि संसदमा प्रस्तुत गरिनेछ।”
त्यसै गरी, डा. केसी ले विदेशी नागरिक भएका नेपाली मूलका व्यक्तिहरू को पहिचान खुल्ने परिचयपत्र को बारेमा पनि ध्यानाकर्षण गराएका थिए। गृहमन्त्री लेखकले यसबारे छलफल भइरहेको र गैरआवासीय नेपाली को परिभाषाभित्र नअटाउने नेपाली मूलका विदेशी नागरिकहरू लाई बेग्लै परिचयपत्र दिने बारे गृह मन्त्रालयले काम सुरु गरेको जानकारी दिएका थिए।
सो अवसरमा, गैरआवासीय नेपाली संघ का अध्यक्ष डा. केसीसहित, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, सल्लाहकार गोविन्दप्रसाद गौतम, आइसीसी सदस्य सञ्जु पौडेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, र संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकता का फोकलपर्शन सरोज दाहाल लगायतका व्यक्तिहरूको उपस्थिति थियो।