© २०२३
काठमाडौं, २१ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सहकारी संस्थामा देखिएका बेथिति नियन्त्रण गर्नका लागि सक्रिय रहेको जनाएका छन्। आज काठमाडौंमा सुरु भएको केन्द्रिय समिति बैठकमा प्रधानमन्त्री ओलीले सहकारी समस्या समाधान गर्न सरकारले १,००० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएका छन्।
उनका अनुसार, नागरिकहरूले गास काटेर, पाई–पाई गर्दै जम्मा गरेका बचत रकम हिनामिना गर्ने र संसदीय छानबिन समितिले किटान गरेका व्यक्तिहरू मध्ये ५ सय भन्दा बढीलाई थुनामा राखिएको छ। “हजारभन्दा बढी विरुद्ध मुद्दा चलाइएको छ। उनीहरू विरुद्ध सहकारी ठगीका अतिरिक्त कतिपयलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ,” ओलीले भने।
प्रधानमन्त्री ओलीले बताए अनुसार, सरकारले समस्याग्रस्त २२ सहकारीलाई घोषणा गरेको छ र ९६९ हजार बचतकर्तामध्ये ६ हजार बचतकर्तालाई करिब १ अर्ब ५५ करोड रुपैयाँ फिर्ता गरेको छ। अन्य सहकारीका बचतकर्तामा पनि फिर्ता प्रक्रिया जारी छ, जसमा ८ हजार बचतकर्ताको ७० प्रतिशत र २ हजार बचतकर्ताको ५० प्रतिशत बचत रकम फिर्ता भएको छ।
ओलीले भने, “यस कामलाई अझ तीव्रता दिँदै साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पूर्ण बचतकर्ताको रकम फिर्ता गराउन सरकारले प्रभावकारी कदम चाल्नुपर्छ।”