© २०२३
बुटवल, १८ पुस । रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटानको रुपन्देहीमा राष्ट्रिय सम्मेलन हुने भएको छ । पुस १९ र २० गते बुटवलस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा १७ औ रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स हुने भएको हो । नया नेतृत्वसंगै दुई दिनमा वर्तमान देशका अवस्थालाई समेटेर विभिन्न विषयमा प्यानल छलफलका कार्यक्रम गरिने डिआरआर अध्यक्ष बिक्रम क्षेत्रीले बताए । युवाहरुलाई नेतृत्व र सामाजिक क्षेत्रमा अग्रसर गराउन रोट्याक्ट सधै अगाडी रहेको उनले बताए ।
कार्यक्रममा रोट्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष सुदिप पौडेलले महत्वपूर्ण कार्यक्रमको आतिथ्यता गर्न पाउदा यसको तिब्र तयारीमा लागेको बताए ।
कार्यक्रममा रोट्याक्ट साउथका पुर्व अध्यक्ष रितेश ज्ञवाली, यादव भट्टराईले माईड म्यानेजमेन्टदेखि राजनिति, आर्थिक विषयमा प्यानल छलफल गरि धारणा तयार गरिने बताए । कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी अनुप पाण्डेले रोट्याक्ट क्लबबाट हुने वार्षिक कार्यक्रममध्ये सबैभन्दा ठूलो भएको बताए ।
यसैगरि राजनितिक सेसनमा ज्ञानेन्द्र शाही, ठाकुर गैरे, आध्यात्मिक सेसनमा रुपेश्वर गौर दास, चैतन्य कृष्ण प्रभु, श्रेया गिरी, ब्यवसाय र उद्यमका विषयमा नेबिल बैकको सिनियर डिसियो मनोज ज्ञवाली, मानवसेवा आश्रमका रामजी ज्ञवाली तथा विजनेश सेसनमा प्रविण रेग्मी, नकिम उद्धिन र प्रभाव राई रहने मिडिया संयोजक आविष्कार खनालले बताए । देशभरका १७४ वटा क्लबका एक हजार बढि सहभागीता रहने छ ।