© २०२३
दाङ, ८ पुस । दाङमा मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका रोल्पाका एक युवकको मृत्यु भएको छ । तुलसीपुरको टरिगाउँ एयरपोर्ट नजिकै हिजो दिउँसो भएको दुर्घटनामा गम्भिर घाइते भएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ का ३१ वर्षिय दिलप्रसाद खत्रीको मृत्यु भएको हो ।
खत्रीको उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमिलिया सडकखण्डको तुलसीपुर–१२ टरिगाउँ एयरपोर्ट नजिक तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल आइतबार दिउँसो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो । तिब्र गतिमा रहेको मोटरसाइकलले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको प्रहरी निरीक्षक थापाले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–११ का ३१ वर्षिय पंकज खत्री गम्भिर घाइते भएका छन् । उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।