दाङको घोराही-तुलसीपुर सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बस र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नंम्बर १० का ४४ वर्षका दिलिप केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डिएसपी इश्वर थापाले जानकारी दिए । आज दिउँसो साढे तीन बजेतिर तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ ख ८१६ नंम्बरको बस र बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नंँबरको मोटरसाईकल घोराही-१० गुर्जेखोलामा दुर्घटना हुँदा केसीको मृत्यु भएको हो । दुर्घटनामा परी बसमा सवार ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा रोल्पा त्रिबेणी गाँउपालिका ४ का २८ वर्षका बीर बहादुर डाँगी, राप्ती गाउँपालिका ५ का ३१ वर्षका प्रेम सुबेदी, तुलसीपुर-१७ बेलझुण्डी बस्ने ४५ वर्षका देवा बिक, तुलसीपुर-१६ बस्ने ५४ वर्षका सिता कुमारी अधिकारी, तुलसीपुर-१९ बस्ने ३८ वर्षका तुलसा खड्का रहेका छन् । यस्तै घोराही-.९ बस्ने ६० वर्षका बल बहादुर डाँगी, घोराही- ५ बस्ने २४ वर्षका साबित्रा बस्नेत, घोराही- ३ बस्ने ३४ वर्षका राम सिंह चौधरी, घोराही-१२ बस्ने ३७ वर्षका नर बहादुर वली, घोराही- ९ बस्ने २२ वर्षका सिता बिश्वकर्मा र घोराही-१५ बस्ने २४ वर्षका दीप परियार रहेको डिएसपी थापाले जानकारी दिए । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा २२ सवार जना सवार रहेका थिए । प्रहरीले बस चालक घोराही उपमहानगरपालिका-१८ फुर्सेखाली बस्ने ५३ वर्षका गोपाल बिकलाई नियन्त्रणमा लिएको छ ।